Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६ वर्षअघि काठमाडौं आउँदा आशाले भनेकी थिइन्, ‘नेपाललाई धेरै प्रेम गर्छु’

फिल्मीखबर, काठमाडौं, 2026/04/12

Aasha Bhosle

 

भारतकी प्रसिद्ध पार्श्व गायिका आशा भोसलेको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले विश्व सांगीतिक जगत् नै स्तब्ध बनेको छ । आफ्नो गायन करिअरमा १२ हजारभन्दा बढी गीत गाएकी उनले भारतीयसँगै नेपाली संगीत क्षेत्रमा पनि ठूलो योगदान पुर्‍याएकी छन् । उनले गाएका थुप्रै नेपाली गीतहरू कालजयी बनेर गुञ्जिइरहेका छन् । 

उनले ‘गैरी खेतको शिरै हान्यो’, ‘म प्यार बेचिदिन्छु’, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘मोहनी लाग्ला है’, ‘बतासले उडाइ ल्यायो माया मेरो’, ‘किन बढ्दैछ ढुकढुकी मुटुको’, ‘पहाडको माथि माथि’, ‘आज हाम्रो भेट भाको दिन’ जस्ता नेपाली गीतहरूमा आवाज दिएकी छन् । उनले गाएको फिल्म ‘चिनो’मा समावेश ‘दियो बाली साँझको’ गीत त तिहारको पर्याय नै बनेको छ ।  

५० हाराहारी नेपाली गीतमा आफ्नो जादुयी स्वर दिएकी आशा नेपाल भने एकपटक मात्र आएकी थिइन् । साधना कला केन्द्रले आयोजना गरेको ‘रञ्जित गजमेर र आशा भोसले सांगीतिक यात्रा’ नामक कार्यक्रममा सहभागी हुन उनी २०७६ सालमा नेपाल आएकी थिइन् । त्यसबेला उनले आफूलाई नेपाल ढिला बोलाएको भन्दै गुनासो गरेकी थिइन् । 

कार्यक्रममा गीत गाउने क्रममा आशाले भनेकी थिइन्, ‘नेपाल आउँदै गर्दा म यो सोचिरहेको थिएँ कि नेपालीहरूले मलाई किन यति चाँडो बोलाए ? अलि ४-६ वर्ष पर्खिएको भए त म माथि नै गइसकेको हुने थिएँ ।’ उनको यो कुराले कार्यक्रम हल हाँसोले गुञ्जिएको थियो । उनले नेपालमा जस्तो सत्कार, सम्मान र स्वागत आफूले कहीँ नपाएको पनि बताएकी थिइन् । 

उनले अगाडि भनेकी थिइन्, ‘विमानस्थलबाट निस्किँदै गर्दा मैले जुन सत्कार, सम्मान र स्वागत पाएँ, त्यो यसअघि कहिल्यै देखेको थिइनँ । मलाई रुन आइरहेको थियो । म एउटा गायिका मात्र हुँ, भगवान् होइन । तर, नेपालमा जुन माया र सम्मान पाएँ, त्यसबाट एकदमै खुसी छु । नेपाललाई म पनि धेरै प्रेम गर्छु ।’ कार्यक्रममा उनले आफ्ना केही चर्चित नेपाली गीतहरू पनि गाएकी थिइन् ।

गायिका भोसलेले नेपाली गीतमा विशेषगरी संगीतकार रञ्जित गजमेर र गायक नारायण गोपालसँग बढी सहकार्य गरेकी थिइन् । नारायण गोपाल उनका सबैभन्दा मनपर्ने नेपाली गायक समेत थिए । उनले प्रकाश श्रेष्ठ, प्रेमध्वज प्रधान, उदित नारायण झा, डेनी डेन्जोङ्पा लगायतका गायकहरूसँग पनि नेपाली गीत गाएकी छन् । 

Most Visited News (monthly)