Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राम नाम सत्य’को सुखद सुरुवात, सिक्वेल बन्ने !

फिल्मीखबर, काठमाडौं, 2026/04/12

biraj bhatta 2

 

नयाँ वर्षको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको एक्सनप्रधान फिल्म ‘राम नाम सत्य’ले घरेलु बक्स अफिसमा सुखद सुरुवात गरेको छ । फिल्मले पहिलो दिन देशव्यापी ३० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरेको थियो । फिल्मको चर्चा अनुसार यो अपेक्षित नभए पनि गत माघमा प्रदर्शन भएको ‘आ बाट आमा’पछिकै उच्च ओपनिङ अकुपेन्सी हो । 

दोस्रो दिन शनिबार भने फिल्मको अकुपेन्सीमा केही वृद्धि देखियो । काठमाडौंका अष्टनारायण, कीर्तिपुर सिनेप्लेक्स, लबिम मल, बिग मुभिज लगायतका हलमा दर्शकको चाप उल्लेख्य देखिएको थियो । नेपालगञ्ज, धनगडी, विर्तामोड, धरान लगायतका सहरमा पनि फिल्मले सन्तोषजनक व्यापार गर्‍यो । समग्रमा शनिबार फिल्मको देशव्यापी अकुपेन्सी ५० प्रतिशतमाथि थियो ।

फिल्म प्रदर्शनमा आएसँगै कलाकारदेखि निर्देशकसम्म काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरूसँग साक्षात्कार गरिरहेका छन् । शनिबार फिल्मका मुख्य अभिनेता विराज भट्ट बालाजुस्थित अष्टनारायण हलमा पुग्दा दर्शकले हुटिङ गर्दै ‘विराज भट्ट शान हो, विराज भट्ट बाघ हो’ भन्दै नारा लगाएका थिए । त्यहाँ करिब १ हजार दर्शकले फिल्म हेरेका थिए । 

फिल्मको व्यापार र दर्शक प्रतिक्रियाबाट विराज उत्साहित देखिएका छन् । शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘शुक्रबार देशभर फिल्म हेर्ने दर्शकको उपस्थिति राम्रो थियो । शनिबार अझ बढ्यो । यो भनेको एकदमै राम्रो चिज हो । ओपनिङ राम्रो लागेर पछि ‘ड्रप’ हुनुभन्दा विस्तारै बढ्नु नै राम्रो हो । म के कुरामा ढुक्क छु भने फिल्म राम्रो चल्छ र लामो चल्छ ।’

 

ram nam satya 2


उनले ‘राम नाम सत्य’को दोस्रो भाग बन्ने पनि जानकारी दिए । सिक्वेलका लागि केही प्रतिशत छायांकन भइसकेको उनको भनाइ छ । त्यसो त फिल्मको पोस्ट-क्रेडिटमार्फत नै दोस्रो भागको घोषणा गरिएको छ । फिल्मको दोस्रो भाग टिकटक स्टार आयुष सिंह ठकुरीमा केन्द्रित हुने देखिन्छ । किनकि, फिल्मको अन्तिम दृश्यमा उनलाई नै प्रस्तुत गर्दै ‘राम नाम सत्य २’ घोषणा गरिएको छ । 

माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की, दिनेश डिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन् ।

Most Visited News (monthly)