.jpg)
अभिनेता सागर लम्साल ‘बले’ ८ दिनपछि हिरासतमुक्त भएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई हाजिरी जमानीमा रिहा गरेको हो । प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर छाडिसकेको छ । गत शुक्रबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
गत शुक्रबार अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसकै आधारमा प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । र, गत आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
बुधबार ती युवतीले सागरविरुद्ध अमेरिकी प्रहरीमा जाहेरी दिइसकेकी छन् । उनले अमेरिकाको न्युयोर्क सिटी पुलिस डिपार्टमेन्टमा जाहेरी दर्ता गरेकी हुन् । जाहेरी परेसँगै अमेरिकी प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ । नेपालमा भने सागरविरुद्ध कुनै जाहेरी परेको थिएन । यसैले प्रहरीले उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरेको थियो ।
राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्री समेत रहेकी विष्ट थरकी ती युवतीले करिब एक वर्षअघि सागरसँग अमेरिकामा भेट हुँदा आफू बस्ने अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहीँ आफू बलात्कृत भएको दाबी गरेकी थिइन् । उनले सागरलाई फेसबुकमा मेन्सन गर्दै ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भनेर प्रश्न समेत गरेकी थिइन् ।

