.jpg)
आगामी बैशाख २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गुरु आमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले उक्त गीत सार्वजनिक गरेको हो । गीतमा ममता गुरुङ र मोहन नेपालीको स्वर रहेको छ भने प्रेम सोनी सुनारको शब्द तथा बीबी अनुरागीको संगीत छ ।
एकेन्द्र सारा शंकरको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा फिल्मका कलाकारहरू मिथिला शर्मा, पूजा शर्मा, बुद्धि तामाङ, प्रेम सोनी सुनार लगायतले नृत्य प्रस्तुत गरेका छन् । विद्यालयको वनभोजमा शिक्षक-शिक्षिका र विद्यार्थीहरूबीचको रमाइलो र मित्रवत् सम्बन्धलाई भिडियोमा देखाइएको छ । बुझिए अनुसार पूजा फिल्मको यस गीतमा मात्र देखिनेछिन् ।
गीत रिलिज कार्यक्रममा मिथिला शर्माले विद्यार्थीदेखि शिक्षक-शिक्षिकाको कथामा फिल्म बनेको बताइन् । उनले भनिन्, ‘यसमा कुनै तामझम छैन । भयंकर फरक कथा लिएर आएका पनि छैनौँ । हामीले हाम्रै कुरा लिएर आएका हौँ । फिल्ममा विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिकाको कुरा छ । यो फिल्मको स्टार नै विषयवस्तु हो ।’
प्रेम सोनी सुनारको कथा तथा निर्देशन रहेको यस फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम के.सी, राधिका हमाल लगायतको अभिनय देख्न सकिनेछ । सीता विश्वकर्मा र प्रेम सोनी सुनार निर्माता रहेको फिल्ममा सुशील पंगेनीको लेखन, शेरबहादुर तामाङ र मिराज अर्यालको छायांकन तथा मित्र देव गुरुङको सम्पादन छ ।

