
चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक डेढ मिनेट लम्बाइको टिजरले फिल्मको कथावस्तु, केन्द्रीय द्वन्द्व र कथाको सेटिङबारे प्रकाश पारेको छ । शंकाका कारण वैवाहिक सम्बन्धमा आउने उतारचढावको कथामा फिल्म आधारित रहेको प्रस्ट संकेत टिजरले दिएको छ ।
टिजरमा फिल्मका मुख्य जोडी विजय बराल र वर्षा राउतको प्रेम सम्बन्धदेखि विवाहसम्मको यात्रालाई देखाइएको छ । विवाहपछि भने उनीहरूको सम्बन्धमा संकट उत्पन्न भएको देखिन्छ । यद्यपि, टिजरको अन्त्यमा उनीहरूबीचको रोमान्टिक दृश्य समेटिएको छ । समग्रमा टिजरले प्रेम, सम्बन्धको जटिलता र भावनात्मक द्वन्द्वलाई केन्द्रमा राखेको झल्को दिन्छ ।
प्रकु पाण्डेयको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेलका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी लगायतको अभिनय रहेको छ । फिल्ममा पटकथा तथा संवाद संयोग गुरागाईँको छ ।
बैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । फिल्मको छायांकन महेश पौडेलले गरेका हुन् भने रोमी मोजेजको सम्पादन रहेको छ । रङ्ग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीले गरेका हुन् ।

