.jpg)
गत माघ १६ गते प्रदर्शन भएको ‘आ बाट आमा’पछि नेपाली फिल्मले घरेलु बक्स अफिसमा निकै निराशाजनक व्यापार गरिरहेका छन् । यो बीचमा प्रदर्शन भएका कुनै फिल्मले एक करोडको आँकडा पनि पार गर्न सकेनन् । बरु भारतीय फिल्म ‘धुरन्धुर २’ले नेपालमा आक्रामक कमाइ गर्यो । तर, नेपाली फिल्महरू भने दर्शक नपाएरै हलमा छटपटिए ।
एकपछि अर्को फिल्मको निराशाजनक प्रदर्शनपछि फिल्मकर्मीहरूमा अन्योल र चिन्ताको अवस्था सिर्जना भइरहँदा अब सबैको आशा ‘राम नाम सत्य’प्रति छ । चैत २७ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो भएकाले बक्स अफिसमा ठूलो धमाकाको अपेक्षा गरिएको छ । यसैले हलहरूले पनि फिल्मलाई पर्याप्त शो उपलब्ध गराएका छन् ।
बिहीबार मध्यान्ह १२ बजेसम्म फिल्मले देशव्यापी १४८ वटा शो पाएको खल्ती एपमा देखिन्छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र फिल्मलाई शुक्रबारका लागि काठमाडौंमा २७ र मोफसलमा ३७ गरी देशव्यापी ६४ शो दिएको छ । अझै केही हलमा बुकिङ खुल्न बाँकी रहेकाले फिल्मको शो २ सय हाराहारी पुग्ने देखिन्छ ।
यो फिल्मको ‘धागोले बाटेको’ गीत यतिबेला चर्चामा छ । टिकटकमा त यो गीत भाइरल नै बनेको छ । फिल्मको एक्सनप्रधान ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । यी संकेतहरू हेर्दा फिल्मले ठूलो दर्शक वर्गलाई हलसम्म आकर्षित गर्न सक्ने देखिन्छ । त्यसमाथि एकल प्रदर्शनको अवसर र नयाँ वर्ष संघारमा रहेकाले फिल्मका लागि व्यापारिक रूपमा अनुकूल अवस्था देखिएको छ ।
माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, नेहा आरएल शाह लगायतको अभिनय रहेको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन् ।

