
अभिनेत्री झरना थापा र उनकी छोरी तथा अभिनेत्री सुहाना थापालाई पहिलो पटक फिल्ममा एकसाथ देख्न पाइने भएको छ । हाल छायांकनरत फिल्म ‘बाः एक योद्धा’मा यी आमाछोरी एकसाथ देखिन लागेका हुन् । फिल्ममा पनि उनीहरू आमाछोरीकै भूमिकामा रहेको निर्देशक हरि लम्सालले जानकारी दिए । दुवैले अहिले एकसाथ ‘सट’ दिइरहेका छन् ।
गत चैत्र ९ गते पशुपतिनाथ मन्दिरमा फिल्मको शुभ मुहूर्तसहित छायांकन सुरु गर्दा कलाकारहरूको नाम गोप्य राखिएको थियो । बिहीबार निर्माण पक्षले छायांकन सेटबाट झरना र सुहानाका तस्वीरहरू सार्वजनिक गर्दै फिल्मका दुई मुख्य कलाकार चिनाएको हो । फिल्ममा अभिनेता दिव्य देवको पनि मुख्य भूमिका रहेको जनाइएको छ ।
निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा रहेको यस फिल्मका निर्माता वसन्त लम्साल हुन् । संगीतकार तथा गायक समेत रहेका उनले यसअघि विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा’ निर्माण गरेका थिए । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्मका छायाँकार शिवराम श्रेष्ठ हुन् । मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् ।
यो फिल्मले बाबुको महत्त्व र उनको अस्तित्वलाई दर्शाउने जनाइएको छ । निर्देशक लम्सालका अनुसार एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ । संगीतकारको रुपमा परिचित उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

