.jpg)
अभिनेत्री रेखा थापाले निरन्तर फिल्म निर्माण गर्दै आइरहेकी छन् । अब उनी नाटक निर्माणमा पनि होमिएकी छन् । यही चैत २७ गते (शुक्रबार)देखि कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरमा मञ्चन हुने नाटक ‘सेतो धरती’मा उनी निर्माताको रूपमा जोडिएकी छन् । उनले यसै वर्ष ‘मीरा’बाट नाटक अभिनयमा डेब्यू समेत गरेकी थिइन् ।
साहित्यकार अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’मा आधारित यो नाटकबाट अभिनेत्री बेनिशा हमालले रंगमञ्चमा डेब्यू गर्दैछिन् । करिब २० दिनदेखि उनी नाटकको वर्कसपमा व्यस्त छिन् । यसमा उनले तारा पात्रको भूमिकामा अभिनय गर्नेछिन् । यो नाटकका लागि उनले करिब २ महिनाको समय दिएकी छन् ।
सुन्दर धिताल निर्देशक रहेको यस नाटकमा बेनिशासहित सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुस्मिता श्रेष्ठ, एड्रिन धमला, विना रोक्का, विनिता गिरी, अर्नव घिमिरे, सम्राट भुजेल लगायतका ३० भन्दा बढी कलाकारहरूको अभिनय रहने जनाइएको छ । ‘सेतो धरती’ उपन्यास बाल्यकालमै विधवा भएर जीवनभर व्यथित जीवन जिएकी तारा पात्रको कथामा आधारित छ ।
कान्तिपुर थिएटरले दोस्रो पटक उपन्यासमाथि नाटक तयार पारेको हो । यसअघि साहित्यकार पारिजातको उपन्यास ‘शिरीषको फूल’माथि नाटक मञ्चन गरिएको थियो । थिएटरका सीइओ प्रकाश पुरीका अनुसार रंगमञ्च, फिल्म र साहित्यलाई जोड्ने उद्देश्यले लोकप्रिय पुस्तकहरूलाई नाटकको रूपमा प्रस्तुत गरिँदै आएको हो ।

