
अभिनेत्री नीता ढुंगानाले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’को छायांकन सुरू गरेकी छन् । मंगलबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा शुभमुर्हूत गर्दै फिल्मको छायांकन थालिएको हो । एक महिनाको छायांकन तालिका तय गरिएको यो फिल्मबाट नीता पहिलो पटक निर्देशकका रूपमा प्रस्तुत हुन लागेकी हुन् ।
नीता फिल्म्सको ब्यानरमा बन्ने यस फिल्ममा नीता स्वयंको मुख्य भूमिका रहनेछ भने दीपाश्री निरौला, बाल गायक अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको पनि अभिनय रहनेछ । अभिनयको हिसाबले अशोकको यो दोस्रो फिल्म हो । उनले यस वर्ष प्रदर्शनमा आएको ‘मन बिनाको धन’बाट फिल्ममा डेब्यू गरेका थिए ।
आगामी भदौ १२ गते प्रदर्शन हुने यो फिल्ममा नीता स्वयंको कथा तथा पटकथा छ भने संवाद शिवम् अधिकारीले लेखेका हुन् । हरिहर अधिकारी निर्माता रहेको फिल्ममा सुदीप बरालले छायांकनको जिम्मेवारी सम्हालेका छन् । फिल्मको सम्पादन साहिल खानले गर्नेछन् । सरोज अधिकारी क्रियटिभ निर्देशक र शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्मातामा रहेका छन् ।
नीताले फिल्ममा पार्वती पात्र एक्लै आफ्नै दुनियाँमा जिउने खालको रहेको बताएकी छन् । फिल्मबारे उनी भन्छिन्, ‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’ फिल्ममा उनी ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिने जनाइएको छ ।

