
टिकटकबाट उदाएका धेरै कलाकारले फिल्मसम्मको यात्रा तय गरिसकेका छन् । अब अर्का टिकटक स्टार आयुष सिंह ठकुरी पनि फिल्ममा देखिँदैछन् । उनको डेब्यू फिल्म ‘राम नाम सत्य’ यही चैत २७ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको ट्रेलर हेर्दा उनी विराज भट्ट वा सुशील श्रेष्ठमध्ये एकको युवावस्थाको भूमिकामा हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा आयुष प्रचारमा सक्रिय हुन थालेका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनी फिल्मलाई लिएर उत्साहित सुनिए । उनले भने- ‘यो फिल्मको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ । मलाई यसअघि पनि धेरै फिल्मबाट प्रस्ताव आएको थियो । तर, ‘राम नाम सत्य’को कथाले तान्यो र काम गर्न तयार भएँ ।’
फिल्ममा आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने उनको दाबी छ । ट्रेलरमा समावेश आफ्नो संवाद परिवारले समेत विश्वास गर्न नसकेको बताउँदै उनले फिल्मका लागि आफूले निकै मिहिनेत गरेको बताए । उनी भन्छन्, ‘मैले फिल्मका लागि सकेको मिहिनेत गरेको छु । फिल्म पनि राम्रो बनेको छ । यसको कथावस्तु एकदमै बलियो छ । फिल्मले दर्शकलाई निराश बनाउँदैन ।’
आयुषका लागि सबैभन्दा ठूलो चुनौती चाहिँ टिकटकका १२ लाखभन्दा फलोअर्सलाई हलसम्म तान्नु देखिन्छ । यसबारे पत्रकारले सोधेको प्रश्नमा उनी भन्छन्, ‘विदेशमा बस्ने धेरै नेपालीहरूले नेपालमा रहेका आफन्त र साथीभाइका लागि फिल्मको टिकट खरिद गरिदिने, हल नै बुक गरिदिने भन्नुभएको छ । दर्शकहरू फिल्मप्रति उत्साहित रहेको पाएको छु ।’
अब निरन्तर फिल्ममा काम गर्ने योजनामा रहेका आयुषले ‘राम नाम सत्य’को सिक्वेल बन्ने खुलासा समेत गरेका छन् । दोस्रो भागमा आफ्नो भूमिका अझै विशेष हुने संकेत गर्दै उनले भने- ‘यो फिल्मको सिक्वेल पनि निर्माण हुँदैछ । सिक्वेलमा मेरो भूमिका के हुन्छ भन्ने बुझ्नका लागि पनि दर्शकले फिल्मको पहिलो भाग छुटाउन हुँदैन ।’
माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ, सन्तोष सरकार लगायतको अभिनय रहेको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा छन् ।

