.jpg)
यस वर्ष नेपाली फिल्मले घरेलु बक्स अफिसमा १ अर्बभन्दा बढीको व्यापार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत १३ गतेसम्म प्रदर्शन भएका ५६ वटा फिल्मबाट १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँ बराबरको कमाइ भएको हो । यो अघिल्लो वर्षको तुलनामा भने झन्डै ७० करोड कम हो ।
यस वर्ष नेपाली फिल्मको टिकट ३७ लाख ८१ हजार ५४४ वटा बिक्री भएको बोर्डले जनाएको छ । सबैभन्दा बढी टिकट ‘परान’को बिक्री भएको छ । यसको कुल कमाइ भने १७ करोड ७६ लाख ग्रस छ । यो नै यस वर्षको सर्वाधिक कमाउने स्वदेशी फिल्म हो । दोस्रोमा ‘आ बाट आमा’ (१३ करोड १३ लाख ग्रस) र तेस्रोमा ‘जेरी अन टप’ (१२ करोड २८ लाख ग्रस) रहेको छ ।
रोचक कुरा चाहिँ के छ भने यस वर्ष नेपालीभन्दा विदेशी फिल्मको कमाइ बढी छ । नेपाली र विदेशी फिल्मको कमाइमा ३ करोड १४ लाख ९ हजार ८३९ रुपैयाँ अन्तर देखिन्छ । ९३ वटा विदेशी फिल्मले यस वर्ष १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रुपैयाँ बराबर कमाएको बोर्डले जनाएको छ । विदेशी फिल्मको टिकट भने ३३ लाख २२ हजार ७५७ वटा बिक्री भएका छन् ।
बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षमा २३० वटा फिल्म दर्ता भएका छन् भने ९४ वटा फिल्मले सेन्सर सिफारिस प्राप्त गरेका छन् । यसैगरी, यस वर्ष देशभर ८ वटा नयाँ सिनेमा हल सञ्चालनमा आएका छन्, जससँगै कुल हल संख्या १७२ पुगेको छ । यस वर्ष ९ वटा नयाँ वितरक कम्पनी पनि दर्ता भएको बोर्डले जनाएको छ ।

