
गत माघमा प्रदर्शन भएको ‘आ बाट आमा’पछि नेपाली फिल्महरूले घरेलु बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेका छैनन् । यस्तैमा गत शुक्रबार (१३ चैत)बाट प्रदर्शनमा आएको फिल्म ‘हामी तीन भाइ’ले पनि निराशाजनक व्यापार गरेको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक अनुसार प्रदर्शनको ९ दिनमा फिल्मले ६ लाख ३२ हजार ग्रस कमाएको छ ।
फिल्मको व्यापार हेर्दा लगानी पूर्ण रूपमा डुबेको देखिन्छ । निर्माताले कलाकारहरूको पारिश्रमिकमा मात्र १५ लाखभन्दा बढी खर्च गरेका छन् । तर, फिल्मले त्यति पनि कमाउन सकेन । अब धेरै हलबाट फिल्म उत्रिसकेकाले व्यापार बढीमा साढे ६ लाख पुग्ने देखिन्छ । यो हुँदा निर्माताको हातमा २ लाख रुपैयाँ पनि पर्दैन । यसअर्थ यो फिल्म यस वर्षको ठूलो ‘डिजास्टर’ बनेको छ ।
‘हामी तीन भाइ’ शीर्षकमा करिब २ दशकअघि पनि फिल्म निर्माण भएको थियो । स्व. शिव रेग्मीको निर्देशनमा बनेको उक्त फिल्मले तत्कालीन समयमा सर्वाधिक ठूलो कमाइ गरेको थियो । त्यही नाममा बनेको नयाँ फिल्मले भने दर्शक नै पाउन सकेन । यसअघि पनि काजलयी फिल्मको नाममा बनेका फिल्म असफल भएका धेरै उदाहरण छन् ।

