अभिनेत्री दिव्या रायमाझीको यस वर्षका लागि पहिलो र अन्तिम फिल्मको रूपमा ‘राम नाम सत्य’ नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउँदैछ । अभिनयको हिसाबले यो उनको तेस्रो फिल्म हो । उनका अघिल्ला दुई फिल्म ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ले अपेक्षित व्यापार गर्न नसकेका कारण उनलाई यो फिल्म व्यावसायिक रूपमा सफल हुनैपर्ने दबाब छ ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा दिव्या निकै उत्साहित देखिएकी छन् । यसमा आफूले काम देखाउन पाएको उनको भनाइ छ । फिल्ममा आधुनिक राजकुमारीको भूमिकामा अभिनय गरेको खुलासा गर्दै उनले भनेकी छन्, ‘यसअघिका फिल्ममा भन्दा यसमा म भिन्न तरिकाले आएको छु । काम पनि धेरै देखाउन पाएको छु । दर्शकलाई फिल्म र मेरो काम मनपर्छ भन्ने विश्वास छ ।’
उनले ‘राम नाम सत्य’ एकदमै राम्रो बनेको दाबी समेत गरेकी छन् । ‘म आफैंले अभिनय गरेका कारण फिल्म राम्रो छ भनेको होइन । फिल्म साँचिक्कै राम्रो बनेको छ,’ उनी अगाडि भन्छिन्, ‘फिल्ममा एक्सन भरपुर छ । तर, यो एक्सन फिल्म मात्र होइन । यसमा इमोसन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट फिल्म बनेको छ ।’
यो फिल्ममा दिव्याको जोडी सुशील श्रेष्ठसँग बाँधिएको छ । सुशीलसँग काम गर्न एकदमै सजिलो भएको उनको अनुभव छ । विराज भट्टसँग पनि फिल्ममा काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको उनी बताउँछिन् । भन्छिन्, ‘एक हिसाबले मेरो लागि यो फिल्म पाठशाला जस्तै रह्यो । अग्रज कलाकारहरूसँग काम गर्न पाउँदा नजानेका धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न पाएँ ।’
कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा दिव्यासहित विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा समावेश ‘धागोले बाटेको’ र ‘हुम्लाको लिमी’ गीत यतिबेला चर्चामा छन् ।

