Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालीबजार’मा स्वस्तिमाको जोडी बनेका विशाल को हुन् ?

फिल्मीखबर, काठमाडौं, 2026/04/01

Bishal Devkota

 

पछिल्लो समय रंगमञ्च पृष्ठभूमिका कलाकारहरूको फिल्ममा आगमन उल्लेख्य रूपमा बढेको छ  । यसै क्रममा नयाँ फिल्म ‘लालीबजार’मार्फत अर्का रंगकर्मीको उदय भएको छ । उनी हुन्, विशाल देवकोटा । रंगमञ्चमा कलाकारसँगै निर्देशकको रूपमा चिनिएका उनको यो पहिलो फिल्म हो । यसमा उनले अभिनेत्री स्वस्तिमा खड्काको जोडी भएर काम गरेका छन् ।

उनी ‘लालीबजार’मा अडिसनमार्फत छनोट भएका थिए । यस वर्ष कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्ने क्रममा उनीमाथि फिल्मका निर्माताको नजर परेको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका हुन् । रंगमञ्चको अनुभवले आफूलाई फिल्ममा प्रवेश गर्ने ढोका खोलेको उनी बताउँछन् । 

विशाल भन्छन्, ‘मैले पछिल्लो पटक कान्तिपुर थिएटरमा नाटक ‘मीरा’मा काम गरेको थियो । त्यो हेर्न प्रदीप भट्टराईसहितको टिम आउनुभएको थियो । उहाँहरूले नाटक हेरिसकेपछि मलाई अफिस बोलाउनुभयो । त्यसपछि अडिसनको सिलसिला सुरु भएको थियो । अन्ततः फिल्ममा छनोट पनि भएँ ।’ फिल्ममा अभिनय गर्ने सानैदेखिको इच्छा पूरा भएकोमा उनी खुसी देखिन्छन् । 

लामो समय रंगमञ्चमा विताएका विशाल नाटक र फिल्म अभिनयबीच ठूलो भिन्नता देख्छन् । भन्छन्, ‘दुवै माध्यममा अभिनयको स्वरूप फरक हुने रहेछ । रंगमञ्चमा एकै पटकमा पात्रलाई पूर्ण रूपमा जिउन पाइन्छ । फिल्ममा भने दृश्य–दृश्यमा टुक्रिएर अभिनय गर्नुपर्ने हुन्छ । यद्यपि, नाटकमा अभिनयको अनुभवले फिल्ममा काम गर्न मलाई धेरै सहयोग मिल्यो ।’ 

उनी ‘लालीबजार’को कथावस्तु समाजको यथार्थसँग जोडिएको दाबी गर्छन् । ‘यो हाम्रो समाजकै यथार्थमा आधारित कथा हो, जसले एउटा परिवेश र त्यहाँको माहोललाई प्रस्तुत गर्छ,’ उनी अगाडि भन्छन्, ‘यो पारिवारिक रूपमा हेर्न मिल्ने, रमाइलो र नयाँ कथामा आधारित फिल्म हो ।’ फिल्ममा उनले हुलाकीको भूमिकामा अभिनय गरेका छन् । 

यम थापाको निर्देशनमा बनेको यस फिल्ममा विशाल र स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यो फिल्म आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।