Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हामी तीन भाइ’ : पुरानोले सय दिन मनायो, नयाँलाई एक साता टिक्न पनि हम्मे

फिल्मीखबर, काठमाडौं, 2026/03/31

hami tin bhai

 

पछिल्लो समय नेपालमा कालजयी फिल्मको नाममा नयाँ फिल्म बनाउने ‘ट्रेन्ड’ नै चलेको छ । कुनै पनि फिल्म प्रदर्शन भएको १० वर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाउने कानुनी व्यवस्था छ । यसैले पहिला लोकप्रिय भएका फिल्मको नाम सापटी लिएर नयाँ कथावस्तुमा फिल्म निर्माण भइरहेका छन् । तर, कुनैले अघिल्लो फिल्मको साख जोगाउन सकेका छैनन् ।

गत पुषमा आएको ‘मुगलान’ होस् वा गत शुक्रबार (चैत १३ गते) प्रदर्शन भएको ‘हामी तीन भाइ’, जसले पुरानो फिल्मको नाम प्रयोग गरे पनि न त्यसको फाइदा उठाउन सके न अघिल्लो संस्करणको साख जोगाउन सफल भए । नयाँ ‘मुगलान’ हलमा एक साता पनि टिक्न सकेको थिएन । ‘हामी तीन भाइ’को अवस्था पनि उस्तै छ । फिल्म हेर्न दर्शकले फिटिक्कै रुचि देखाएका छैनन् । 

२२ वर्षअघि प्रदर्शनमा आएको स्व. शिव रेग्मी निर्देशित ‘हामी तीन भाइ’ हलमा एक सय दिनभन्दा बढी समय चलेको थियो । यो तत्कालीन समयमा सर्वाधिक कमाउने फिल्म समेत हो । यसका संवाददेखि गीतसम्म दर्शकलाई अझै पनि कण्ठस्थ छ । तर, नयाँ ‘हामी तीन भाइ’ले न हलमा अपेक्षित दर्शक पाएको छ, न पाएको दर्शकलाई सन्तुष्टि दिएको छ ।

फिल्म हेर्ने दर्शक नै नभएपछि धेरै हलहरूले शो हटाइसकेका छन् । पहिलो दिन देशव्यापी ५० हाराहारी शो पाएको फिल्मको मंगलबारसम्म आइपुग्दा ९५ प्रतिशत शो गुमिसकेको छ । बाँकी रहेका शोमा पनि टिकट बिक्री निकै दयनीय देखिन्छ । यही अवस्था रह्यो भने आगामी शनिबारसम्म पनि फिल्मलाई हलमा टिक्न मुस्किल पर्नेछ । 

‘मुगलान’ र ‘हामी तीन भाइ’को नाममा बनेका नयाँ फिल्मको व्यापारिक हविगत हेर्दा एउटा कुरा के स्पष्ट हुन्छ भने कालजयी फिल्मको नाम प्रयोग गर्दैमा दर्शकले विश्वास गर्दैनन् । पुरानो फिल्मको नाम प्रयोग गर्नु झन् ठूलो जोखिम देखिन्छ । कम्तीमा यी दुई फिल्मबाट अब निर्माताहरूले पाठ सिक्न जरुरी छ । नभए पछि फुर्सदमा पछुताउनुबाहेक केही विकल्प रहँदैन ।