Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दशैंमा थपियो अनमोलको ‘बाटुलो जून’, यस्तो छ पोस्टर

फिल्मीखबर, काठमाडौं, 2026/03/30

anmol kc

 

आगामी दशैंमा फिल्म रिलिजको चाप उच्च हुने देखिएको छ । ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘झिँगेदाउ २’, ‘आ बाट आमा २’ र ‘महाराजधिराज’ले दशैंलाई प्रदर्शन मिति तय गरिसकेको अवस्थामा अब अर्को फिल्म पनि थपिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ दशैंमा आउन लागेको हो । 

सोमबार अनमोलको जन्मदिनको अवसर पारेर निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै फूलपातीको अघिल्लो दिन अर्थात् ३० असोजलाई प्रदर्शन मिति घोषणा गरेको छ । यही मितिमा ‘छ माया छपक्कै २’देखि ‘झिँगेदाउ २’सम्म प्रदर्शन गर्ने तयारी भइरहेका बेला ‘बाटुलो जून’ले अचानक मिति घोषणा गर्दै ‘ओभरटेक’ गरेपछि अब दशैंको रिलिज समीकरण बदलिन सक्ने देखिन्छ ।

फिल्मको सार्वजनिक पोस्टरमा अनमोल र उनको जोडी बनेर अभिनय गरेकी प्रिन्सी खतिवडालाई प्रस्तुत गरिएको छ । पूर्णिमाको जूनलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा अनमोलले एक हातमा राँको बोकेका छन् भने अर्को हातले पर्खालमा उभिएकी प्रिन्सीको खुट्टा समाएका छन् । यसले ग्रामीण प्रेमकथामा फिल्म आधारित रहेको स्पष्ट संकेत गर्छ ।

अभिनेता भुवन केसीको निर्देशनमा बनेको यस फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् । जीयाले फिल्म हेरिरहँदा दर्शकले आफूलाई ३० वर्ष पहिलेको नेपाली समाजमा पाउने दाबी गरेकी छन् । ‘जीवनको कुनै न कुनै समयमा प्रेमको स्पर्श गरेका जुनसुकै वर्गका दर्शकको लागि यो फिल्म समर्पित छ । फिल्मले दर्शकलाई विगत र वर्तमानको आभाष गराउनेछ,’ उनले भनिन् । 

सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल, कमल देवकोटा लगायतको अभिनय देख्न सकिनेछ । राजेश श्रेष्ठले फिल्मको छायाँकारमा छन् ।