Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मास्टर्नी’को गुपचुप छायांकन गर्दै प्रियंका, को-को छन् कलाकार ?

फिल्मीखबर, काठमाडौं, 2026/03/30

Priyanka Karki

 

वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ र सर्ट फिल्म ‘टाँक’पछि अभिनेत्री प्रियंका कार्की अब फिचर फिल्म निर्माणमा होमिएकी छन् । उनले फिल्मको नाम ‘मास्टर्नी’ राखेर चैत १३ गतेबाट छायांकन सुरु गरिसकेकी छन् । तीन दिन कास्की जिल्लाको एक गाउँमा छायांकन गरेर फिल्मको टिम काठमाडौं फर्किसकेको जनाइएको छ । अब बाँकी छायांकन काठमाडौंमा हुनेछ ।

प्रियंका स्वयंको मुख्य भूमिका रहेको यस फिल्ममा गौरी मल्ल, ऋचा शर्मा, आर्यन सिग्देल, अनुप विक्रम शाही, प्रमोद अग्रहरी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । प्राप्त जानकारी अनुसार फिल्ममा प्रियंकाको जोडी अनुपसँग बाँधिएको छ । आयंका फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘मास्टर्नी’मा निर्देशकसहित धेरैजसो प्राविधिक टिम भारतीय रहेको जनाइएको छ । 

फिल्मको निर्देशकमा सुभेन्दु घोष रहेका छन् । बंगाली भाषी सुभेन्दु तिनै निर्देशक हुन्, जसले यस वर्ष अभिनेता जितु नेपाललाई लिएर फिल्म ‘आइएम जितबहादुर’ बनाएका थिए । यसमा प्रियंकाको पनि अभिनय रहेको छ । यही फिल्ममा काम गरेपछि उनले आफ्नो फिल्मको निर्देशनको जिम्मेवारी सुभेन्दुलाई सुम्पिने निर्णय गरेकी थिइन् । 

सुभेन्दु बंगाली फिल्मका अनुभवी निर्देशक मानिन्छन् । उनले सन् २००७ मा फिल्म ‘अबेलय गरम भाट’बाट निर्देशकीय यात्रा सुरु गरेका थिए । यसपछि उनले ‘भय’, ‘चेतोना’ जस्ता बंगाली र ‘चेज नो मर्सी टू क्राइम’, ‘मै मुलायम सिंह यादव’ जस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन् । उनले ९ वर्षअघि ‘एभ्रिडे इज सनडे’ नामक नेपाली फिल्म पनि बनाएका थिए ।