Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलसँग ‘आ बाट आमा २’मा देखिँदै आकाश

फिल्मीखबर, काठमाडौं, 2026/03/30

aakash shrestha

 

यस वर्षको सर्वाधिक कमाउने दोस्रो फिल्म ‘आ बाट आमा’को अब दोस्रो भाग निर्माण हुँदैछ । आगामी बैशाखबाट छायांकन सुरु गर्न लागिएको ‘आ बाट आमा २’मा यतिबेला कलाकार छनोटको काम भइरहेको छ । पहिलो श्रृंखलाकै दुई मुख्य कलाकार विपना थापा र पल शाह अनुबन्धित भइसकेको यस फिल्ममा अब अभिनेता आकाश श्रेष्ठको प्रवेश भएको छ । 

सोमबार निर्देशक चन्द्र पन्तले आकाशलाई फिल्मको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरेका हुन् । उनका अनुसार फिल्मको कथा र पात्रमा सुहाउने भएपछि आकाशलाई लिइएको हो । उनको प्रवेशसँगै फिल्मको कथा पहिलो भागको भन्दा फरक ढंगले अगाडि बढ्ने देखिएको छ । यद्यपि, निर्माण पक्षले कथावस्तुबारे जानकारी गराएको छैन । 

फिल्ममा विपना, पल र आकाशबाहेक अरु कलाकार तय भएका छैनन् । फिल्मको पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको पनि मुख्य भूमिका रहेको थियो । उनीहरूमध्ये उषा भने दोस्रो भागमा दोहोरिन सक्ने फिल्म निकट स्रोतले जनाएको छ । उनी ‘आ बाट आमा’मा पलको जोडी बनेर देखिएकी थिइन् । 

आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । उनी आफैं निर्माता रहेको फिल्मलाई आगामी दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोडमाथिको व्यापार गरेकाले अब यसको दोस्रो भागले त्यो आँकडालाई उछिन्न सक्छ वा सक्दैन भन्ने चासोमा दर्शकमा देखिएको छ ।