Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३२ वर्ष लागे अनमोल, अविस्मरणीय बन्यो २०८२

फिल्मीखबर, काठमाडौं, 2026/03/30

Anmol Kc

 

पछिल्लो छिमलका कमै यस्ता कलाकार छन्, जसको नाम हलको टिकट काउन्टरमा बिक्छ । त्यसको अग्रस्थानमा आउने नाम हो, अनमोल केसी । आफ्नो करिअरको १२ वर्षमा जम्मा ११ वटा फिल्ममा काम गरेका उनका धेरैजसो फिल्म व्यावसायिक रुपमा सफल छन् । यसको मुख्य कारण युवापुस्तामा उनको लोभलाग्दो फ्यान फलोइङलाई मान्ने गरिन्छ । 

सन् २०१३ मा प्रदर्शन भएको ‘होस्टेल’बाट मुख्य अभिनेताको रुपमा उदाएका अनमोल पहिलो फिल्मबाटै सफलताको उत्कर्षमा पुगेका थिए । त्यसपछि आएका ‘जेरी’, ‘गाजलु’, र ‘ड्रिम्स’ जस्ता फिल्मले उनलाई नयाँ पुस्ताको ‘नम्बर वान नायक’ नै बनायो । बीचमा ‘कृ’ र ‘क्याप्टेन’ भने औसत चले । तर, ‘ए मेरो हजुर’का तेस्रो र चौथो श्रृंखलाले उनलाई फेरि करिअरको उचाइमा पुर्‍यायो ।

अनमोलले आफ्नो करिअरमा सबैभन्दा ठूलो धक्का भने २०७९ सालमा व्यहोरेका थिए । यो वर्ष उनी अभिनीत फिल्म ‘छड्के २’ प्रदर्शन भएको थियो । यो फिल्मको व्यापार यति नाजुक रह्यो कि निर्माताले उनलाई तिरेको पारिश्रमिक पनि हलबाट उठ्न सकेन । फिल्मले करिब ३० लाखको व्यापार गरेको थियो । यसलाई उनको करिअरकै सबैभन्दा कमजोर फिल्म समेत मानिन्छ । 

‘छड्के २’ बक्स अफिसमा नराम्रोसँग पछारिएपछि फिल्म छनोटमा निकै चुजी बनेका उनलाई २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘फर्की फर्की’ले भने ठूलो राहत दिएको थियो । मल्टीस्टारर फिल्म ‘पूजार सार्की’सँगको प्रतिस्पर्धाका बाबजुद उक्त फिल्मले घरेलु बजारमा साढे ४ करोड ग्रस कमाएको थियो । यो व्यापार अनमोलको स्टारडमकै कारण सम्भव भएको थियो । 

वर्ष २०८२ भने अनमोलका लागि अविस्मरणीय बनेको छ । गत असोजमा प्रदर्शन भएको उनी अभिनीत फिल्म ‘जेरी अन टप’ व्यापारिक रूपमा यस वर्षको टपमै रह्यो । ‘परान’ प्रदर्शनअघि यस वर्षको सर्वाधिक कमाउने फिल्म नै यही थियो । अहिले भने तेस्रो नम्बरमा छ । यसले १२ करोड २६ लाखमाथिको व्यापार गरेको थियो । यो अनमोलको सर्वाधिक कमाउने फिल्म समेत हो ।

अनमोल सामान्यतः वर्षमा एउटाभन्दा बढी फिल्ममा काम गर्दैनन् । यस वर्ष उनले आफ्नो होम प्रोडक्सनको फिल्म ‘बाटुलो जून’मा काम गरेका छन् । उनका बुबा भुवन केसीले निर्देशन गरेको यो फिल्मको छायांकन पूरा भइसकेको छ भने आगामी दशैं छेकोमा रिलिजको तयारी गरिएको छ । आगामी वर्ष उनले फिल्म ‘ए मेरो हजुर ५’मा काम गर्नेछन् । 

अन्तर्मुखी स्वभावका अनमोल जति कम फिल्म गर्छन्, त्यति नै कम सार्वजनिक कार्यक्रममा देखिन्छन् । न त उनी कुनै विषयमा तत्काल प्रतिक्रिया नै जनाउँछन् । यही कारण पनि उनी र उनका फिल्महरूप्रति दर्शकको चासो अत्याधिक हुने गरेको पाइन्छ । उनको सरल, सालिन र शान्त स्वभाव दर्शकले बढी मन पराउने गरेका छन् ।

दर्शकमाझ ‘मेगास्टार’को रूपमा चिनिएका उनै अनमोल सोमबार ३२ औं जन्मदिन मनाउँदैछन् । सुष्मिता केसी र भुवन केसीको पहिलो सन्तानका रूपमा उनको जन्म २० मार्च १९९४ मा भएको थियो । उनको जन्मदिनको अवसरमा कुनै विशेष कार्यक्रम राखिएको छैन । उनलाई सामाजिक सञ्जालमार्फत फिल्मकर्मीदेखि प्रशंसकसम्मले जन्मदिनको शुभकामना दिइरहेका छन् ।