
अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’मा बाल गायक अशोक दर्जीले अभिनय गर्ने भएका छन् । आइतबार निर्माता कम्पनी नीता फिल्म्सले थिम पोस्टर सार्वजनिक गर्दै फिल्ममा अशोकको मुख्य भूमिका रहने जनाएको हो । फिल्ममा नीता स्वयंको पनि अभिनय रहनेछ । नीता र अशोकले यसअघि फिल्म ‘मन बिनाको धन’मा सँगै काम गरेका थिए ।
फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको पनि अभिनय रहने जनाइएको छ । यही चैत २४ गतेबाट छायांकन सुरु हुने यस फिल्मलाई रक्षा बन्धनको अवसर पारेर भदौ १२ गते प्रदर्शन गर्ने निधो समेत गरिएको छ । यही मितिमा अर्को फिल्म ‘बेहुली’ पनि प्रदर्शनमा आउँदैछ ।
निर्देशक ढुंगाना स्वयंको कथा तथा पटकथा लेखन रहेको यस फिल्मको संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । सुदीप बरालको छायांकन तथा साहिल खानको सम्पादन रहने फिल्ममा डान्स ग्रुप ‘कार्टुन क्रु’का सरोज अधिकारी क्रियटिभ निर्देशकको रूपमा छन् । प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् ।
नीताले फिल्ममा पार्वती पात्र एक्लै आफ्नै दुनियाँमा जिउने खालको रहेको बताएकी छन् । फिल्मबारे उनी भन्छिन्, ‘यो हास्य, भावना र सामाजिक सन्देश मिसिएको मनछुने कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ ।’ बुझिए अनुसार फिल्ममा उनी ‘अटिजम’ भएको युवतीको भूमिकामा देखिनेछिन् ।

