.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन)को राजनीतिक सल्लाहकारमा फिल्म निर्देशक तथा निर्माता असिम शाह नियुक्त भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को पहिलो बैठकले शाहलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । रास्वपाका नेता समेत रहेका उनी बालेन निकट मानिन्छन् ।
उनले रास्वपाका सभापति रवि लामिछाने र बालेन शाहलाई मिलाउन ठूलो भूमिका खेलेका थिए । उनीहरूबीच राजनीतिक एकता गर्ने निर्णय नै असिमको फिल्म तथा म्यूजिक निर्माण कम्पनी जी-ट्वान्टीवान प्रोडक्सनको कार्यालयमा भएको थियो । त्यसअघि उनको घरमा रवि र बालेनले करिब ६ घन्टा राजनीतिक सहकार्यबारे छलफल गरेका थिए ।
असिम पूर्वसमानुपातिक सांसद समेत हुन् । २०७९ सालमा उनी सांसद बनेका थिए । फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै सांसद बन्ने उनी पहिलो व्यक्ति हुन् । दर्जनौं व्यावसायिक विज्ञापन बनाइसकेका उनले सन् २०१७ मा फिल्म ‘दुई रुपैयाँ’ निर्देशन गरेका थिए । यो फिल्म व्यावसायिक रुपमा सफल भएको थियो । यसमा समावेश ‘कुटुमा कुटु सुपारी दाना’ गीत अझै पनि चर्चित छ ।
सन् २०१३ मा ‘कर्कस’ फिल्मको निर्माण समेत गरेका असिम सांसद बन्नुअघि दुई फिल्म ‘शुभ विवाह’ र ‘डामाडोल’ निर्माणको तयारीमा थिए । तर, उनी सांसद भएसँगै यी दुवै फिल्मको निर्माण अन्योल बन्यो । अब प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त भएकाले उनी तत्काल निर्देशनमा फर्किने सम्भावना झिनो बनेको छ ।

