आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत प्रकाश स्वयंको हो । गीतमा युवायुवतीले एकअर्कासँग गरेको वाचा र प्रेमभावलाई प्रस्तुत गरिएको छ ।
रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र सुहाना थापा देखिएका छन् । फिल्ममा दम्पतीको भूमिकामा रहेका उनीहरूलाई भिडियोमा घाँस-दाउरा, चुलोचौको, खेतीपाती गर्दै गरेको देख्न सकिन्छ । दुवैले आकर्षक नृत्य पनि प्रस्तुत गरेका छन् । ग्रामीण परिवेश र त्यहाँको जीवन शैलीलाई भिडियोमा सुन्दर ढंगले देखाइएको छ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा प्रकाश र सुहानासहित सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । हरिओम सिने मेकर्सका सुशील पोखरेल लगानीकर्ता रहेको फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।
आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।

