.jpg)
अभिनेता अनमोल केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । उनले बालेनलाई ‘दाइ’को रुपमा सम्बोधन गर्दै देशले प्रधानमन्त्रीको रुपमा कलाकार पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले बालेनलाई नेपालीको आशा र भरोसाको रुपमा अभूतपूर्व काम गर्न सुझाव पनि दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशले प्रधामन्त्रीको रुपमा आजबाट कलाकारलाई पाएको छ । असाध्यै खुसी लागेको छ । तर, तपाईं कलाकारको रुपमा मात्र नभई , सम्पूर्ण नेपालीको आशा भरोसाको रुपमा अभूतपूर्व काम गर्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । यो जित केवल तपाईंको होइन, हामी सबैको आशा र विश्वासको जित हो ।’
अनमोलले ‘अ न्यू च्याप्टर फर नेपाल’ लेखिएको बालेन चित्रित एक पोस्टर समेत सेअर गर्दै सधैंझैँ सच्चा, सरल र देशका लागि काम गर्ने ऊर्जासहित अघि बढ्न शुभकामना दिएका छन् । उनले देशको कुनै प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत बधाई दिएको यो पहिलो पटक हो । यसले बालेनप्रति उनको ठूलो विश्वास र भरोसा रहेको संकेत गर्छ ।
बालेनसँग अनमोलको निकै राम्रो चिनजान र सम्बन्ध रहेको छ । २०८१ सालमा प्रदर्शन भएको उनको फिल्म ‘फर्की फर्की’ हेर्न बालेन प्रिमियर शोमा नै उपस्थित भएका थिए । र, फिल्म हेरेपछि उनले सामाजिक सञ्जालमा ‘नयाँ स्वादको फिल्म’ भन्दै प्रशंसा गरेका थिए । बालेन काठमाडौंको मेयरमा निर्वाचित भएयता उनीसँग अनमोलको नियमित कुराकानी हुने गरेको बताइन्छ ।

