.jpg)
चर्चित हिप–हप गायक बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेसँगै कलाकारहरूले खुसी व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट देशको ४३ औं प्रधानमन्त्री बनेका उनलाई कलाकारहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनीबाट कलाकारहरूले देशमा ठूलो परिवर्तन र सुशासनको आशा समेत राखेका छन् ।
अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमार्फत बालेनलाई ऐतिहासिक कार्यकालको शुभकामना दिँदै उनलाई लाखौँ नेपाली जनताको विश्वास, भरोसा र आशाको केन्द्र भनेकी छन् । अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले पनि प्रधानमन्त्री बालेन र नवनियुक्त मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामनासहित राष्ट्रलाई फाइदा पुर्याउने काम गर्न र देशको मुहार फेर्न आग्रह गरेकी छन् ।
फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेतले पनि नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई दिँदै नेपाल हाँसेको र नेपाली खुसीले बाँचेको हेर्न चाहेको बताएका छन् । उनी बालेनका निकै निकट मानिन्छन् । बालेनलाई झापा-५ मा चुनाव जिताउन उनी खुलेरै लागिपरेका थिए । बालेनलाई रवि लामिछानेसँग मिलाउन पनि उनको ठूलो भूमिका रहेको थियो ।
बालेन प्रधानमन्त्री बनेकोमा कलाकारहरू हरिवंश आचार्य, रमेश उप्रेती, सन्दीप क्षेत्री, नीति शाह, सुहाना थापा, जसिता गुरुङ, वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, निकिता चाण्डक, हरिहर अधिकारी, सन्ध्या केसी, प्रियना आचार्य, प्रेम पुरी लगायतले पनि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

