
एक सातादेखि भारतीय फिल्म ‘धुरन्धर २’को नेपालका हलमा एकछत्र दबदबा छ । देशभरका अधिकांश हलहरूको शो यही फिल्मको कब्जामा छ भने दर्शकहरू मध्यरातसम्म हलमा ओइरिरहेका छन् । नेपालमा यो फिल्मको क्रेज हेर्दा अझै २-३ साता नेपाली बक्स अफिस राम्रै चलायमान हुने देखिन्छ । फिल्मले नेपालमा २० करोडमाथि कमाउन सक्ने आँकलन गरिएको छ ।
‘धुरन्धर २’प्रति दर्शकको अभूतपूर्व आकर्षण देखिइरहँदा राम नवमीको अवसर पारेर शुक्रबारबाट नेपाली फिल्म ‘हामी तीन भाइ’ प्रतिस्पर्धामा उत्रिएको छ । यसलाई फिल्मका निर्माताले उठाएको ठूलो जोखिम मानिएको छ । देशव्यापी ५० हाराहारी शो पाएको यो फिल्मलाई ‘धुरन्धर २’को चुनौती चिर्न दर्शकको सकारात्मक प्रतिक्रिया आवश्यक पर्ने देखिन्छ ।
दाजुभाइबीचको आत्मीय सम्बन्ध र अंशबन्डाको द्वन्द्वलाई केन्द्रीय कथावस्तु बनाएर निर्माण भएको यो फिल्मका निर्देशक मधुसुदन भट्टराई हुन् । उनले यसअघि ‘ब्ल्याक मेल’, ‘ब्ल्याक नाइट’, ‘निर्भय’, ‘सुकुलगुन्डा’, ‘डेस्टिनेशन काठमाडौं’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । ‘हामी तीन भाइ’मार्फत उनी करिब ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् ।
यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, फलित राई, जाहन्वी बस्नेत, कुशल विष्ट, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, रमा बिष्ट, सुष्मा निरौला, विरेन श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्मातामा छन् । फिल्मका छायाँकार शिव ढकाल र सम्पादक बनिष शाह हुन् ।

