Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पारस र दिव्यालाई लिएर ‘बेहुली’ बन्ने, तीजमा प्रदर्शन

फिल्मीखबर, काठमाडौं, 2026/03/26

BEHULI Muhurt (2)

 

टिकटक स्टार तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझी पहिलो पटक फिल्ममा एकसाथ देखिने भएका छन् । फिल्म ‘बेहुली’मा उनीहरूको जोडी बाँधिन लागेको हो । यो फिल्मको बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा गर्दै शुभ मुहूर्त गरिएको छ । फिल्मको छायांकन भने यसै साताबाट सुरू हुनेछ । 

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बन्ने यस फिल्मलाई ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले निर्देशन गर्नेछन् । यो उनको दोस्रो निर्देशकीय फिल्म हुनेछ । उनले यस वर्ष ‘होस्टेल अगेन’ र ‘बाउ भर्सेस छोरा’को पनि निर्माण घोषणा गरेका थिए । तर, उनले तत्कालका लागि दुवै फिल्मलाई पछाडि सार्दै पहिला ‘बेहुली’ बनाउन लागेका हुन् । 

फिल्मको प्रस्तुतकर्तामा संगीतकार तथा गायक अर्जुन पोखरेल रहेका छन् । दुई दशकदेखि गीतसंगीत क्षेत्रमा सक्रिय उनी यही फिल्ममार्फत निर्माणमा होमिएका हुन् । फिल्मका लागि गीतहरू उनी आफैंले तयार गर्नेछन् । प्रताप राणा निर्माता रहेको फिल्ममा माधव शर्मा लेखकको रूपमा छन् । माधवले यसअघि ‘होस्टेल ३’को पनि स्क्रिप्ट लेखेका थिए । 

आगामी वर्षको हरितालिका तीजको छेको पारेर भदौ १२ गते प्रदर्शन गर्न लागिएको यस फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, लोकेन्द्र लेखक, समायरा थापा मगरलगायतका कलाकारहरूको अभिनय रहनेछ । सुशान्तले यही फिल्मबाट ५ वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेका हुन् ।

नरेन्द्र मैनालीको छायांकन (डीओपी) रहने यस फिल्ममा सुमन थिङ तामाङ कार्यकारी निर्माता तथा दुर्गा खरेल र रमेश सिलवाल सह-निर्मातामा रहेका छन् । शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन् । फिल्मलाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मा रोशन श्रेष्ठले पाएका छन् । फिल्मको पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन् ।