अभिनेता जितु नेपाल (मुन्द्रे)को मुख्य भूमिका रहेको फिल्म ‘आइएम जितबहादुर’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य पात्रको मनोभाव र संघर्षलाई झल्काइएको टिजरमा साउन्ड र ग्राफिक्स स्तरीय देखिन्छ । ग्राफिक्समार्फत जितुको पात्रलाई विभिन्न अवस्थामा देखाइएको छ, जहाँ उनी कहिले घाइते त कहिले खुसी र गहिरो पीडामा देखिन्छन् ।
बंगाली निर्देशक सुभेन्दु घोषको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा जितुको जोडी वर्षा राउतसँग बाँधिएको छ । यसमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । विशेष भूमिकामा नीति शाह र आर्यन सिग्देल रहेका छन् । यो फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा भइरहेको छ ।
कर्मभूमि क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा जितु नेपाल निर्माताको रूपमा रहेका छन् । सह-निर्माताहरू राजन सिंखडा र दीपेन्द्र अधिकारी हुन् भने निश्चल कुँवर र नीरज नेपाल कार्यकारी निर्मातामा छन् । भारतीय मुलका अरविन्दको छायांकन रहेको यो फिल्मले कलाकार बन्न गाउँबाट सहर आएको एक युवकको संघर्षको कथा प्रस्तुत गर्ने जनाइएको छ ।

