
तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच रञ्जित गजमेरको संगीतमा रहेको उक्त गीत दर्शकमाझ ल्याइएको हो । गीतलाई संगीतकार गजमेरले फिल्म ‘चिनो’मा समावेश आफ्नो चर्चित गीत ‘मोहनी लाग्ला है’को शैलीमा तयार पारेका छन् ।
निर्देशक घिमिरे स्वंयको शब्द रचना रहेको गीतमा भारती घिमिरे, साकार अप्टे, अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ र विपिन कार्कीको स्वर छ । गीतमा विपिनले हिन्दी लवजमा र्याप गाएका छन् । यस गीतको भिडियोमा भने उनीसहित पञ्चमी घिमिरे (तुलसी घिमिरेकी कान्छी छोरी), अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी लगायतलाई देख्न सकिन्छ ।
गीतले सहरमा भीड भए पनि मान्छे एक्लो हुने सन्देश दिँदै गाउँको सौन्दर्य र मानिसहरूबीचको आत्मीयताको वर्णन गरेको छ । यसबाट निर्देशक घिमिरेले फिल्मको कथावस्तुबारे जानकारी दिन खोजेको देखिन्छ । फिल्मले बसाइँ सराईका कारण रित्तिँदै गएको पहाडी भूगोललाई केन्द्रमा राखेर गाउँ र सहरबीचको धरातलीय यथार्थ पस्किएको छ । गीतमा पनि यही भाव भेटिन्छ ।
नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, स्व. सुनिल थापा, विपिन कार्की, प्रियंका कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, पञ्चमी घिमिरे, भारती घिमिरे, रवीन्द्रसिंह बानियाँ लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा निर्देशक घिमिरे स्वयंको लेखन छ ।
भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरू सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् । प्रस्तुतकर्तामा उत्तम रसाइली रहेका छन् । फिल्ममा प्रमोद प्रधानको छायांकन, भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।

