.jpeg)
संगीतकारको रुपमा परिचित हरि लम्साल अब फिल्म निर्देशक बन्ने भएका छन् । उनले फिल्म ‘बा : एक योद्धा’बाट निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन् । यो फिल्मको सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन सुरु गरिएको छ । फिल्ममा निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा लेखन रहेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्म सन्तानका लागि एक बाबुले गर्ने त्याग र संघर्षको कथामा आधारित हुने जनाइएको छ । फिल्ममा शिवराम श्रेष्ठको छायाकंन रहनेछ । उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सफल फिल्म खिचेका थिए । यसैले ‘बा : एक योद्धा’ दृश्यका हिसाबले उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।
यस फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा संगीतकार समेत रहेका उनले गत वर्ष विपिन कार्की र उपासना सिंह ठकुरीलाई लिएर एक्सन फिल्म ‘कर्मा’ निर्माण गरेका थिए । तर, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । उनले ‘बा : एक योद्धा’को कथावस्तु एकदमै राम्रो लागेपछि लगानी गर्न तयार भएको बताएका छन् ।
फिल्मको छायांकन सुरु गरिए पनि निर्माण पक्षले मुख्य कलाकारहरूको नाम भने गोप्य राखेको छ । दर्शकलाई ‘सरप्राइज’ दिने उद्देश्यले तत्काल कलाकारहरूको नाम सार्वजनिक नगरिएको निर्देशक लम्सालले बताए । उनका अनुसार फिल्मको छायांकन सकिएपछि फर्स्टलुक पोस्टरमार्फत कलाकारहरू सार्वजनिक गरिनेछ ।

