Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निफमा सहभागी हुन ‘शोले’का निर्देशक सिप्पी नेपाल आउने

फिल्मीखबर, काठमाडौं, 2026/03/22

ramesh-Shippa

 

भारतको कल्ट क्लासिक फिल्म मानिने ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सहभागी हुन नेपाल आउने भएका छन् । चैत १९ गते निफको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आउने आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेमेडीले जनाएको छ । सिप्पी पहिलो पटक नेपाल आउन लागेका हुन् । 

कार्यक्रममा निर्देशक सिप्पीले नेपाली फिल्मकर्मी र दर्शकमाझ आफ्नो फिल्मी यात्राबारे अनुभव सुनाउने निफका अध्यक्ष केपी पाठकले बताए । उनले भने, ‘नेपाली–भारतीय मेकरहरूको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको फिल्म मेकिङको अनुभवले नेपाली मेकरलाई केही जानकारी मिल्ने भएकाले हामीले उहाँलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौं । उहाँले स्वीकार गर्नुभयो ।’

‘अन्दाज’ (१९७१)बाट निर्देशकीय यात्रा सुरु गरेका सिप्पीले ‘शोले’सहित एक दर्जनभन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । पछिल्लो पटक उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शन भएको थियो । उनले ‘चाँदनी चोक टू चाइना’, ‘ब्लफमास्टर’, ‘सोनाली केबल’, ‘दम मारो दम’ जस्ता एक दर्जनभन्दा बढी फिल्मको निर्माण समेत गरेका छन् । 

निफको नवौं संस्करण चैत १९ गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू पनि राखिनेछ । पाँच दिनसम्म एआई फिल्म वर्कसप समेत सञ्चालन हुने आयोजकले जनाएको छ । त्यसमा सहभागी हुन इच्छुकले चैत ११ गतेसम्म आवेदन दिनुपर्नेछ ।