.jpg)
यस वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’ले प्रदर्शनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । फिल्मले आइतबार प्रदर्शनको ५१ औं दिन पूरा गरेको हो । निर्देशक चन्द्र पन्तका अनुसार फिल्मले २० भन्दा बढी हलमा ५१ दिन मनाएको छ । यो अवसरमा आइतबार निर्माण पक्षले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कलाकार र प्राविधिकलाई प्रशंसा पत्र प्रदान गर्यो ।
फिल्मले ५१ दिनसम्म करिब साढे १३ करोड व्यापार गरेको वितरक कम्पनी आरआर फिल्म्सले जनाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा भने फिल्मको व्यापार १३ करोड १० लाख आसपास छ । प्रचारसहित २ करोडमा बनेको यो फिल्मबाट निर्माताले ५ करोडसम्म शेयर पाउन सक्ने देखिन्छ । यस वर्ष १३ करोडमाथि कमाउने ‘परान’पछि यो दोस्रो फिल्म हो ।
‘आ बाट आमा’को व्यावसायिक सफलतापछि यसको दोस्रो भागको निर्माण घोषणा भइसकेको छ । गत फागुनमा अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर दोस्रो श्रृंखलाको घोषणा गरिएको थियो । आगामी दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको यस फिल्ममा पल स्वयं मुख्य भूमिकामा देखिनेछन् भने विपना थापा पनि दोहोरिने सम्भावना उच्च रहेको छ ।
बाबुआमा र छोराको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘आ बाट आमा’मा पल र विपनासहित प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, रचना गौतम, बेगम नेपाली लगायतको अभिनय रहेको छ । निर्देशक पन्त स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको संवाद लेखन छ ।

