आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काइँली’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत गायक मल्ल स्वयंका हो । गीतको संगीत संयोजन श्याम श्वेत रसाइलीले गरेका हुन् । युवायुवतीबीचको प्रेम, आकर्षण र समर्पणको भावलाई गीतले प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरुहरू दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, खड्गबहादुर पुन मगर (खबपु) लगायतलाई देख्न सकिन्छ । भिडियोमा सौगात र तेरियाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । यसले फिल्ममा उनीहरू जोडीको रूपमा रहेको स्पष्ट संकेत गर्छ । गीतका कोरियोग्राफर मिङ्मा डि लेप्चा हुन् ।
‘मितज्यू’का निर्माता जनक घर्ती मगरले यो गीत फिल्मको कथा अनुसार नै राखिएको बताए । उनले भने, ‘फिल्मको कथाले जुन गीत मागेको थियो, त्यही नै समावेश गरेका हौं । अडियो र भिडियो दुवैलाई उत्कृष्ट बनाउन हामीले कुनै कुरामा सम्झौता गरेका छैनौं । दर्शकले यो गीत मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ उनले यसअघि फिल्म ‘घरज्वाइँ’ बनाएका थिए ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ, सौगात, तेरिया र खड्गबहादुरसहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर लगायतको अभिनय रहेको छ । तेरियाको यो डेब्यु फिल्म हो ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा महेश राईको लेखन, लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन, प्रभात विष्टको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठको पार्श्व संगीत, कुनाल सुनुवारको रंग संयोजन तथा मुकेश शाहको साउन्ड डिजाइन रहेको छ । ग्रामीण परिवेशमा बनेको यस फिल्ममा मितेरी साइनोको कथा उठाइएको जनाइएको छ ।

