Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सांसद बन्न नपाएका प्रकाश भन्छन्, ‘मेरो कुनै गुनासो छैन’

फिल्मीखबर, काठमाडौं, 2026/03/21

Prakash Saput

 

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा दलित पुरुष क्लस्टरतर्फ दोस्रो नम्बरमा रहेका गायक तथा अभिनेता प्रकाश सपूतको सांसद बन्ने सपना अधुरै रह्यो । संवैधानिक व्यवस्था अनुसार संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधानका कारण रास्वपाले उनलाई समेट्न सकेन ।

चुनावमा रास्वपाका लागि भोट माग्दै हिँडेका प्रकाश सांसद बन्न नपाएपछि उनी पार्टी र नेतृत्वप्रति असन्तुष्ट रहेको चर्चा चलेको थियो । तर, शनिबार बिहान उनले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै पार्टीप्रति आफ्नो कुनै गुनासो नरहेको बताएका छन् । उनले निर्वाचनपछि आफूलाई ‘म छुटेँ’ भन्ने लागेको भए पनि आफ्नो तीनवटा उद्देश्य पूरा भएकोमा खुसी व्यक्त गरेका छन् ।

अस्थिरता र भ्रष्टाचार अन्त्य गर्न रास्वपालाई समर्थन र सहयोग गर्ने, बालेनको नेतृत्वमा स्थायी सरकार बनाउन खुलेर लागिपर्ने र नयाँ सरकारलाई उपेक्षित, उत्पीडित आफ्नो समुदायको अनुहार देखाइरहने र झकझकाइरहने उद्देश्य बोकेर आफू निर्वाचनमा होमिएको बताउँदै उनले त्यो उद्देश्य पूरा भएको उल्लेख गरेका छन् । 

उनले होस हवासमैले आफूले चुनावमा होमिने निर्णय गरेको समेत बताएका छन् । उनी लेख्छन्, ‘म मानसिक र व्यवहारिक रुपमा तयार भैरहेको थिए । किनकि, जीवनको कुनै न कुनै मोडमा कुनै कार्यकारी निकायमा बसेर काम गर्ने सोच पहिलेदेखिकै हो । अहिले त्यो संयोग र अवसर मिलेको थियो । मैले होस हवासमै निर्णय लिएको थिएँ र निर्वाचनमा होमिएको थिएँ ।’

उनले बालेन शाहको नेतृत्वमा ५ वर्षको स्थिर सरकार बन्ने प्रक्रियाको आफू सानो हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् । आगामी कयौं पुस्ताले धन्यवाद दिने काम गर्न बालेनलाई सुझाव दिँदै उनले आफूले कुनै निकायमा नियुक्ति नखाने पनि स्पष्ट पारेका छन् । अब कलाकारितामार्फत जनतालाई मनोरञ्जन दिने उनको भनाइ छ ।