Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा’लाई उल्लेख्य शो, ‘द ब्लू लाइट’ले कति पायो ?

फिल्मीखबर, काठमाडौं, 2026/01/29

aa bata aama 2

 

गत मंसिरयता नेपाली फिल्महरूले अपेक्षित व्यापार गर्न नसक्दा फिल्म क्षेत्रमा अन्योलता छाएको छ । यस्तो परिस्थितिमा अब धेरैको आशा भोलि शुक्रबार (१६ माघ)बाट प्रदर्शन हुने दुई फिल्म ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’प्रति देखिन्छ । यी दुवै फिल्ममा स्थापित कलाकारहरूको पल्टन रहेकाले बक्स अफिस चलायमान हुने अपेक्षा गरिएको छ । 

बुधबारबाट देशभरका मल्टीप्लेक्सहरूले दुवै फिल्मको शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । दुई फिल्ममध्ये ‘आ बाट आमा’ले उच्च शो पाएको छ । फिल्मलाई शुक्रबारका लागि देशव्यापी १३८ शो उपलब्ध भएको खल्ती एपमा देखिन्छ । यसमध्ये केही शोमा बुकिङ राम्रो देखिएको छ । ‘द ब्लू लाइट’ले भने ६१ शो पाएको छ । 

यी दुवै फिल्म फरक शैली र विषयमा बनेका छन् । ‘आ बाट आमा’ आमा-छोराबीचको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने ‘द ब्लू लाइट’ साइकोलोजिकल थ्रिलर फिल्म हो । यस हिसाबले दुवै फिल्मका लक्षित वर्ग फरक छन् । अब दर्शकको रोजाइमा कुन पर्छ, त्यो प्रतीक्षाको विषय हो । 

चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’मा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, दीलिप उखेडा, हेमराज अधिकारी लगायतको अभिनय रहेको छ । फिल्ममा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्मातामा छन् ।

त्यस्तै, बलिराम चौहानको निर्देशनमा तयार भएको ‘द ब्लू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायतको अभिनय रहेको छ । बेनिशा यो फिल्मको कार्यकारी निर्माता पनि हुन् । उनले यसको डिजिटल अधिकार समेत खरिद गरेकी छन् । फिल्ममा निर्देशक चौहान स्वयंको लेखन रहेको छ ।

Most Visited News (monthly)