Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झरीपछिको इन्द्रेणी’ हेरेपछि मन्त्री गुप्ता भन्छन्, ‘फिल्मले ठूलो पाठ सिकाउँछ’

फिल्मीखबर, काठमाडौं, 2025/12/21

bablu gupta

 

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेको भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रायःले प्रशंसा गरेका छन् । दर्शकबाट फिल्मलाई उत्कृष्ट ‘वर्ड अफ माउथ’ मिलेकाले विस्तारै व्यापारिक गति बढ्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनको पहिलो दिन काठमाडौंको बिग मुभिजमा फिल्मको विशेष शो आयोजना गरिएको थियो, जहाँ युवा तथा खेलकुद मन्त्री बब्बु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर तथा र्‍यापर बालेन शाह, महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, जेनजी अगुवा सुदन गुरुङ लगायतको उपस्थिति थियो । उनीहरू सबैले फिल्मले उठाएको विषयवस्तुको मुक्तकण्ठले प्रशंसा गरे ।

मन्त्री गुप्ताले हरेक मानिस इमानदार हुनुपर्छ भन्ने सन्देश फिल्मले दिने बताए । ‘यो अनिवार्य रुपमा युवाले परिवारसहित हेर्नुपर्ने फिल्म हो,’ उनले भने, ‘इमानदारिता र नैतिकता नहुँदा मानिसको जीवन कस्तो हुन्छ भन्ने कुरा फिल्मले एकदमै राम्रोसँग देखाएको छ । हामी असल नागरिक बन्ने कि नबन्ने र आफ्नो जीवनमा इमानदारिता राख्ने कि नराख्ने भन्ने ठूलो पाठ फिल्मले सिकाउँछ ।’ 

युवाहरू विदेश पलायन र आम नेपालीको संघर्षपूर्ण जीवनलाई पनि फिल्मले मर्मस्पर्शी रुपमा देखाएको बताउँदै मन्त्री गुप्ताले कलाकारहरूमध्ये गणेश उप्रेतीले निभाएको इमानदार वडा सचिवको भूमिकाको प्रशंसा गरे । ‘फिल्ममा मलाई सबैभन्दा मन परेको भूमिका चाहिँ वडा सचिवको हो । हामी त्यस्तै खालको इमानदार व्यक्ति हुनुपर्छ,’ उनले भने ।

चर्चित हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी, जेसिका पोखरेल लगायतको अभिनय रहेको छ । फिल्मले सरकारी कार्यालयमा हुने भ्रष्टाचारलाई मुख्य कथावस्तु बनाउँदै एक इमानदार कर्मचारी र बाबुको संघर्षलाई पर्दामा उतारेको छ ।

नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

फिल्म प्रदर्शनको तेस्रो दिन निर्माण पक्षले नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको छ । यस गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर रहेको छ । फिल्मको कथावाचनलाई बलियो तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको यो गीतले सन्तानका लागि बाबुले गर्ने त्याग र संघर्षलाई उजागर गरेको छ । 

 

Most Visited News (monthly)