Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलप्रति हराउन थालेको विश्वास

फिल्मीखबर, काठमाडौं, 2023/05/23

संसार विश्वासमा चलेको छ । र, विश्वास यस्तो चिज हो, जुन कमाउन गाह्रो र गुमाउन सजिलो छ । जब कसैप्रति विश्वास गुम्छ, तब उसलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुन्छ । नैतिकता, इमानदारिता र सदाचार विश्वास टिकाइराख्ने शूत्र हुन् । निजी सम्बन्धमा मात्र होइन, व्यावसायिक पाटोमा पनि विश्वास आर्जन गर्नु सबैभन्दा ठूलो कुरा हो । विश्वास नै व्यक्तिको चिनारीको बलियो आधार हो ।

 

अपिलको 'प्रताप' अनमोललाई अफर


कसैप्रति विश्वास हराउन थालेपछि कुन हदसम्म शंका उत्पन्न हुन्छ भन्ने कुरा अभिनेता अनमोल केसीलाई हेर्दा थाहा हुन्छ । ‘छड्के २’ असफल भए पनि उनको नामले फिल्म चल्छ भन्ने विश्वास मेकरहरुलाई अझै छ । तर, उनले फिल्म साइन गरेपछि छाड्दैनन् भन्ने विश्वास भने गुम्न थालेको छ । किनकि, उनी फिल्म साइन गर्दै छाड्ने मामलामा सम्भवतः संसारमा नै सबैभन्दा अगाडि छन् ।

‘धुपौरे’, ‘ब्याचलर बन्टी’, ‘एक्स ९’, ‘हनी बनी’ र पूजा शर्माको फिल्म उनले साइन गरेर पछि छाडेका फिल्म हुन् । यसैले आजकाल उनले नयाँ फिल्म साइन गर्नसाथ छाड्ने चर्चा पनि सुरु हुन थाल्छ । उनले शुक्रबार सुयोग गुरुङको निर्देशन र रोहित अधिकारीको निर्माण रहने फिल्म ‘फर्की फर्की’ सम्झौता गरे । तर, अनमोलले यो फिल्म पनि छाड्ने त होइनन् भन्ने प्रश्न उब्जन थालिसकेको छ ।

रोहितलाई मिडियाकर्मी र दर्शकहरुले यो प्रश्न सोधेर हत्तुहैरान नै बनाइसकेका छन् । यसबारेमा उनले स्पष्टिकरण नै दिनुपरेको छ । उनी फेसबुकमा लेख्छन्, ‘यो फिल्म अनमोलको प्रोजेक्ट हो र यसमा हामी ‘इन’ भएका हौं । त्यसैले हामीले फिल्म छोड्दैनौं । फिल्म भनेकै डेटमा सुटिङमा जान्छ ।’ निर्माता अधिकारीले स्पष्टिकरण दिनुपर्ने अवस्था अनमोलप्रति विश्वास गुम्नुले आएको हो ।

 

rohit adhikari


अनमोलको समस्या भनेको उनी ‘वान लाइन स्टोरी’ सुनेको भरमा फिल्म साइन गरिदिन्छन् । जब फाइनल स्क्रिप्ट हातमा पर्छ तब अर्कै हुन्छ । अनि उनी केही नसोची फिल्म छाडिदिन्छन् । स्क्रिप्ट चित्त नबुझेपछि फिल्म नगर्नु राम्रो कुरा हो । तर, यो उनले फिल्म सम्झौता गर्नुअघि सोच्नु पर्ने कुरा हो । हतारमा फिल्म साइन गरेर पछि छाड्ने आचरणले उनीप्रति विश्वास गुम्दै गएको अवस्था छ ।