Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पाँच पाण्डव’ फ्लप भएपछि वसन्त भन्छन्, ‘यो अन्त्य होइन’

फिल्मीखबर, काठमाडौं, 2026/11/13

Basantaa Niraula

 

काठमाडौं । तिहारको अवसर पारेर कात्तिक २० गतेबाट प्रदर्शन भएको फिल्म ‘पाँच पाण्डव’ व्यावसायिक रूपमा असफल भएको छ । दोस्रो हप्तामै फिल्मको देशव्यापी शो तीनवटामा झर्नुले फिल्म ठूलो डिजास्टर बनेको देखाउँछ । यसको मुख्य कारण भने प्रदर्शनपूर्वको विवादलाई मानिएको छ । फिल्मको एक गीतलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।

फिल्म असफल भएपछि निर्देशक वसन्त निरौलाले शुक्रबार फेसबुकमा एक पोस्ट गर्दै यसलाई आफ्नो अन्त्य नभई अझ सशक्त सुरुवातका रूपमा व्याख्या गरेका छन् । ‘पाँच पाण्डव’ महिनौँको मेहनत, अनगिन्ती सपना, संघर्ष, त्याग र समर्पणको प्रतिफल रहेको उल्लेख गर्दै उनले एउटा सिर्जनामाथि धेरैको सपना गाँसिएको हुने बताएका छन् ।

फिल्म प्रदर्शनअघि भएका टीकाटिप्पणी र विरोधबारे उनले भनेका छन्, ‘कुनै पनि सिर्जनामाथि आलोचना हुनु स्वाभाविक हो । आलोचनाले नै सुधारको बाटो देखाउँछ । तर, सिर्जना नहेरी, वास्तविकता नबुझी र सत्यतथ्य नकेलाई गरिने आरोप र टिप्पणीले एउटा सम्पूर्ण टिमको मेहनत मात्र होइन, जो कोहीको मनोबल र सिर्जनशीलतामाथि पनि चोट पुर्‍याउँछ ।’

उनले आज आफ्नो मन दुखेको भए पनि हिम्मत नटुटेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘परिस्थिति प्रतिकूल बनेको छ, तर सिर्जनाप्रतिको विश्वास कमजोर भएको छैन । एउटा फिल्मको यात्रा कठिन मोडमा पुग्दैमा जो कोहीको यात्रा समाप्त हुँदैन । बरु यस्ता पीडाले अझ परिपक्व बन्न, अझ बलियो भएर उभिन र अझ उत्कृष्ट सिर्जना गर्न प्रेरित गर्छन् ।’ 

आलोचना र निराशालाई चिर्दै आफ्नो कामबाटै जवाफ दिने साहस आफूसँग अझै जीवित रहेको बताउँदै उनले यो आफ्नो यात्राको अल्पविराम मात्र भएको बताएका छन् । उनी अगाडि लेख्छन्, ‘यो पूर्णविराम होइन, एउटा कठिन अल्पविराम मात्र हो । यात्रा अझै बाँकी छ, सपना अझै जीवित छन् र संघर्ष गर्ने साहस अझै बाँकी छ ।’