Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शक भेट्न हल पुगेका हरिवंशले के भने ?

फिल्मीखबर, काठमाडौं, 2026/11/08

haribansha acharya

 

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पाँच पाण्डव’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेको छैन । त्यसको मुख्य कारण प्रदर्शनपूर्व फिल्मलाई लिएर उत्पन्न विवादलाई मानिएको छ । यद्यपि, फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्ममा मनोरञ्जन र सन्देश दुवै रहेको दर्शकको प्रतिक्रिया छ । 

फिल्म प्रदर्शन भएसँगै हरिवंश आचार्यसहितका कलाकारहरू काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन् । शनिबार हल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै हरिवंशले फिल्मलाई दर्शकले मन पराएको बताए । उनले भने, ‘हेर्ने जति सबैले फिल्म एकदमै मन परेको बताउनुभएको छ । परिवारसहित हेर्न मिल्ने फिल्म भन्नुभएको छ ।’ 

उनले फिल्ममा धर्मका नाममा कसैलाई नराम्रो नदेखाइएको पनि प्रस्ट पारे । फिल्म रिलिजपछि यो कुरा प्रमाणित भएको उनको भनाइ छ । उनी भन्छन्, ‘धर्मको विषयमा नराम्रो देखाउने र कसैको चित्त दुखाउने काम भएको छैन । कसैको चित्त दुखाउने काम गर्न पनि हुँदैन । फिल्म कति सत्यको बाटोमा हिँडेको छ भन्ने कुरा छर्लङ भइसकेको छ ।’

वसन्त निरौलाको निर्देशन तथा सुशील पौडेलको लेखन रहेको फिल्ममा हरिवंशसहित आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, सुशील सिटौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, इभा गिरीलगायतका कलाकारको अभिनय छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई काली रानी श्रेष्ठले निर्माण गरेकी हुन् ।