Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ५’को कमाइ १२ करोड नाघ्यो, ‘आ बाट आमा २’ ७ करोड नजिक

फिल्मीखबर, काठमाडौं, 2026/11/09

kabaddi 5

 

काठमाडौं । दसैंको अवसर पारेर कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ५’ले घरेलु बक्स अफिसमा १२ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले २२ कात्तिकसम्म १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कमाएको छ । यो कमाइ ४ लाख ५ हजार ८८४ वटा टिकट बिक्रीबापत भएको हो । 

‘कबड्डी ५’पछि दसैँका फिल्ममा ‘आ बाट आमा २’ले दोस्रो सर्वाधिक कमाइ गरेको छ । असोज ३० गतेबाट प्रदर्शन भएको यो फिल्मको व्यापार झन्डै ७ करोड नजिक छ । आइतबार (२२ कात्तिक)सम्म फिल्मले ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ ग्रस कमाइ गरेको छ । सो अवधिसम्म फिल्मका २ लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन् ।

तेस्रो स्थानमा भने दीपकराज गिरी समूहको फिल्म ‘छ माया छपक्कै २’ छ । यसले ३ करोड ४२ लाख २५ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ । फिल्मका १ लाख ६ हजार ६४४ वटा टिकट बिक्री भएका छन् । यो दीपकराज समूहको अहिलेसम्मकै सबैभन्दा कम कमाइ गर्ने र ठूलो डिजास्टर बनेको फिल्म हो । यसको पहिलो भागले १० करोडमाथिको व्यापार गरेको थियो ।

त्यस्तै, दसैंमा रिलिज भएको ‘१२ गाउँ २’ २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ ग्रस व्यापारसहित चौथो स्थानमा छ । यसका ७५ हजार ५४० वटा मात्र टिकट बिक्री भएका छन् । योसँगै ‘१२ गाउँ २’ यस वर्षको ठूलो डिजास्टरमध्ये एक बनेको छ । यसको पहिलो भागले घरेलु बक्स अफिसमा झन्डै २० करोडको व्यापार गरेको थियो ।

दसैंका चार फिल्मबाहेक ‘गौँथली’ले २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ, ‘पेन्सन पट्टा’ले १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ र ‘बाः एक योद्धा’ले ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको बक्स अफिस रिपोर्ट सिनेपाःमा उल्लेख छ । यीमध्ये ‘गौँथली’ इतिहासकै दोस्रो र यस वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्म हो ।