Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मका पाँच तिहार गीत, जुन कालजयी बने

फिल्मीखबर, काठमाडौं, 2026/11/10

nepali movie tihar song

 

काठमाडौं । जब चाडपर्व नजिकिन्छन्, तब गीतसंगीतले छुट्टै माहोल थप्छन् । तीज, दसैं, तिहार, छठजस्ता पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई गीतसंगीतले नै जीवन्त बनाएका छन् । तर, अझै पनि चाडपर्वमा नयाँभन्दा दशकअघिका गीतहरूकै बोलबाला छ । तिहारमा त झन् नेपाली फिल्मका पुराना गीतहरू नै बढी घन्किने गरेका छन् ।

आउनुस्, तिहारमा दशकौँदेखि गुञ्जिँदै आएका पाँच सदाबहार फिल्मी गीतको चर्चा गरौँ ।

‘भैलिनी आए आँगन’

शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’मा समावेश यो गीत तिहारको पर्याय नै बनेको छ । जब यो गीत बज्न थाल्छ, तब तिहार आएको आभास हुन्छ । यस गीतमा यादव खरेलको शब्द, शम्भुजीत बाँस्कोटाको संगीत तथा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । गीतको भिडियोमा अभिनेत्री गौरी मल्ल प्रस्तुत छिन् । 

‘दियो बाली साँझको’

तुलसी घिमिरे निर्देशित फिल्म ‘चिनो’मा समावेश ‘दियो बाली साँझको’ पनि तिहारको कालजयी गीतमा पर्छ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर समावेश गीतमा माता लक्ष्मीको स्वागतका लागि साँझपख दियो बालिएको प्रशंगलाई समेटिएको छ । गीतको भिडियोमा सुभद्रा अधिकारी र केशव भट्टराईको अभिनय देख्न सकिन्छ ।

‘निधारमा लर्काएर सप्तरंगी टीको’

राजेन्द्र सलभको निर्देशन रहेको फिल्म ‘विजय पराजय’मा समावेश यो गीतले पनि तिहारको महत्त्व र विशेषता झल्काउँछ । दिनेश अधिकारीको शब्द रहेको गीतमा हेमलताको स्वर र शम्भुजीत बाँस्कोटाको संगीत छ । बहिनीप्रति दाजुभाइको प्रेम झल्काउने यस गीतको भिडियोमा अभिनेता द्वय भुवन केसी, कृष्ण मल्ल र अभिनेत्री रुपा राणा प्रस्तुत छन् ।  

‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’

अनिल संग्रौलाद्वारा निर्देशित फिल्म ‘माइती’मा समावेश यो गीत पनि तिहारमा उत्तिकै लोकप्रिय छ । आनन्द कार्की, उदित नारायण झा, दीपा झा र नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा लक्ष्मणको संगीत छ । भाइटीकाको दिन रिसाएकी बहिनीलाई दाजुले फकाउँदै गरेको परिवेशमा तयार पारिएको गीतको भिडियोमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंह प्रस्तुत छन् ।

‘अधरमा आज उनकै छ गीत’

तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘अन्याय’मा समावेश ‘अधरमा आज उनकै छ गीत’ले पनि तिहारको झल्को दिन्छ । मनिला सोताङको स्वर, रत्नशमशेर थापाको शब्द र रञ्जित गजमेरको संगीत रहेको यस गीतको भिडियोमा अभिनेत्री मिरा माधुरीलाई खुसी हुँदै घरमा दियोबत्ती बालेर रमाइरहेको देख्न सकिन्छ ।