
काठमाडौं । नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण’ले विश्व बक्स अफिसमा धमाका मच्चाएको छ । रणवीर कपूर अभिनीत यस फिल्मले प्रदर्शनको ८ दिनमै विश्वव्यापी एक हजार करोडको आँकडा पार गरेको छ । बिहीबारसम्म फिल्मले विश्वभर १ हजार ३३ करोड ५५ लाख भारु ग्रस कमाएको ट्रेड पोर्टल साक्निल्कले जनाएको छ ।
योसँगै ‘रामायण’ विश्वभर सबैभन्दा चाँडो एक हजार करोड कमाउने तेस्रो भारतीय फिल्म बनेको छ । यसअघि ‘पुष्पा २’ले ६ दिनमा र ‘धुरन्धर २’ले ७ दिनमा विश्वभर एक हजार करोडभन्दा बढीको ग्रस व्यापार गरेका थिए । ‘रामायण’ले भारतमा भने ५६४ करोड नेट र ६७५ करोड ग्रस भारतीय रुपैयाँ कमाइ गरेको जनाइएको छ ।
फिल्मको कुल घरेलु कमाइमा हिन्दी भर्सनको सबैभन्दा ठूलो योगदान छ । प्रदर्शनको ८ दिनमा हिन्दी भर्सनले ४३७ करोड भारु नेट कमाइ गरेको छ । यसपछि कन्नड भर्सनले ४८ करोड ९५ लाख, तेलुगु भर्सनले ३८ करोड ५ लाख, तमिल भर्सनले २२ करोड १४ लाख र मलयालम भर्सनले १८ करोड ४५ लाख भारु नेट कमाएको साक्निल्कको रिपोर्टमा उल्लेख छ ।
‘रामायण’ले यस वर्ष सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्मको रेकर्ड समेत बनाएको छ । यसले ‘दृश्यम ३’, ‘जेलर २’ र ‘हनुमान’को अलटाइम कलेक्सनलाई उछिनेको हो । अब यसको अघि ‘धुरन्धर २’ मात्र छ, जसले भारतमा १ हजार १४९ करोड भारु नेट कमाइ गरेको थियो । यो आँकडा पार गर्न सके ‘रामायण’ यस वर्षकै सर्वाधिक कमाउने भारतीय फिल्म बन्नेछ ।
दुई भागमा निर्माण गरिएको फिल्ममा रणबीर कपूर (राम), साई पल्लवी (माता सीता), यश (रावण), रवि दुबे (लक्ष्मण), अरुण गोविल (राजा दशरथ), लारा दत्ता (कैकेयी), रकुल प्रीत सिंह (शूर्पणखा), काजल अग्रवाल (मन्दोदरी) र आदिनाथ कोठारे (भरत)को भूमिकामा छन् । फिल्मलाई दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

