Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परस्त्री’को हिन्दी गीत अमित, सोनल र कुणालले गाउने

फिल्मीखबर, काठमाडौं, 2023/05/22

 

Parastree

 

फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएपछि नेपाली फिल्ममा हिन्दी डबको ट्रेन्ड नै सुरु भएको छ । यो बीचमा धेरै नेपाली फिल्म हिन्दीमा डब भैसकेका छन् । यसैक्रममा, आगामी असार १५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’लाई पनि हिन्दीमा डब गरेर भारतमा प्रदर्शन गरिँदैछ । अहिले भारतको एक स्टुडियोमा हिन्दी डबको काम भैरहेको छ ।

यसबीच, फिल्मको हिन्दी संस्करणको गीतका लागि भारतका चर्चित तीनजना गायक/गायिकालाई अनुबन्धित गरिएको छ । अमित मिश्र, सोनल प्रधान र कुणाल गाञ्जावालाले फिल्मको हिन्दी गीत गाउने निर्माण टिमले जानकारी गराएको छ । अमितले ‘रांझन दे यार बुल्लेया’, ‘फकिरा’, ‘गलती से मिस्टेक’, ‘डिंग डङ’, ‘मजबूर तू भी कहीँ’, ‘रेडियो’ जस्ता चर्चित हिन्दी गीतहरु गाइसकेका छन् ।

कुणालले पनि धेरै लोकप्रिय गीत गाएका छन् । फिल्म ‘मर्डर’मा समावेश ‘भीगे होंठ तेरे’ उनको करिअरकै सबैभन्दा चर्चित गीत हो । ‘मौला मौला रे’, ‘आया रे’, ‘तेरे बिन’, ‘जब कभी’, ‘पिया’, ‘सलाम-ए-इश्क’, ‘सौ ग्राम जिन्दगी’ गीतहरु पनि उनका निकै चर्चित छन् । त्यस्तै, सोनल प्रधानको ‘मौसम’, ‘फिर से’, ‘बिंदी’, ‘सुन रे जरा’ जस्ता गीत चर्चित छन् । उनी गीतकार तथा संगीतकार पनि हुन् ।

सुरज पाण्डेको निर्देशनमा बनेको फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा आदिको अभिनय छ । डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्मको कथा दीपेन्द्र के. खनालले लेखेका हुन् । शर्मिला पाण्डे निर्माता रहेको फिल्मका छायांकन निरज पाण्डे हुन् । केही दिनअघि शिल्पालाई बोल्ड अवतारमा प्रस्तुत गर्दै पोस्टर सार्वजनिक गरिएको थियो ।