Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैदानमा उत्रिए ‘बुलाकी’, ‘बिहे पास’ र ‘जारी’

फिल्मीखबर, काठमाडौं, 2023/04/14

आज नेपाली नयाँ वर्ष । २०८० को दशकको पहिलो दिन । नयाँ वर्षलाई नयाँ आशा, हौसला र उमंगको उत्सवको रुपमा मनाइन्छ । यही विशेष दिनको अवसर पारेर शुक्रबारबाट तीन फिल्म ‘बुलाकी’, ‘बिहे पास’ र ‘जारी’ हलको पर्दामा लागेका छन् । यसमध्ये दुई फिल्म ‘बिहे पास’ र ‘जारी’ अभिनेता दयाहाङ राईका हुन् । करिअरमै पहिलो पटक उनका दुई फिल्म एकसाथ भिडेका हुन् ।

तीन फिल्ममध्ये मल्टीप्लेक्सहरुमा बढी शोज पाउनेमा ‘जारी’ अगाडि छ । र, यो फिल्मको एड्भान्स बुकिङमा देखिएको क्रेज हेर्दा व्यापारमा पनि यही अगाडि देखिने निश्चित प्रायः छ । पहिलो दिन फिल्मले एक करोडमाथिको कमाई गर्न सक्ने देखिन्छ । शोजको मामलामा ‘बिहे पास’ दोस्रो र ‘बुलाकी’ तेस्रो स्थानमा छ । रोचक कुरा त के छ भने ‘बुलाकी’ र ‘जारी’ जारी प्रथामा आधारित छन् ।

 

bulaki, jaari and bihe pass


बुधबार भएको ‘स्पेशल स्क्रिनिङ’मा सुखद प्रतिक्रिया प्राप्त गरेको ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल, सरस्वती खत्रीको अभिनय रहेको फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन् ।

प्रवेश पौडेल निर्देशित ‘बिहे पास’मा दयाहाङसँगै प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, उमा बानियाँ, नविन शेरचनको अभिनय छ । रोहित कटेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मका लागि मर्रे केर, आकाश बराल र सजन काफ्लेले तयार पारेको कथालाई आकाश र सजनले पटकथामा उतारेका हुन् ।

त्यस्तै, ‘जारी’मा दयाहाङका अलावा मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको अभिनय छ । कवि समेत रहेका उपेन्द्र सुब्बाले फिल्मको निर्देशन गरेका हुन् । निर्देशकको रुपमा यो उनको पहिलो फिल्म हो । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ फिल्मका निर्माता हुन् ।

Most Visited News (monthly)