Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संसारकै सबैभन्दा ठूलो स्टूडियोबाट सुरु भयो ‘ह्रस्व दीर्घ’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2023/02/06

HRASHWO DEERGHA

 

गत वर्ष निर्माण घोषणा गरिएको फिल्म ‘ह्रस्व दीर्घ’को अन्ततः छायांकन सुरु भएको छ । भारतको हैदराबादमा अवस्थित संसारकै सबैभन्दा ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीबाट फिल्मको छायांकन थालिएको हो । सोमबार क्यामेरा र स्क्रिप्ट पूजाआजा गरेपछि नेपाली कलाकार र साउथ फिल्मका लोकप्रिय कलाकार अलीको दृश्य खिच्दै छायांकन सुरु गरिएको जानकारी प्राप्त छ ।

फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले एक भिडियो सन्देशमार्फत् भनेकी छन्, ‘फिल्मको बारेमा हामीले धेरै वर्णन गर्‍यौं । अब चाहिँ बल्ल छायांकन सुरु भएको छ । संसारकै सबैभन्दा ठूलो स्टूडियोमा नेपाली फिल्म खिच्नु भनेको नेपाली र नेपाली फिल्म इन्डष्ट्रीका लागि धेरै ठूलो कुरा हो जस्तो लाग्छ । पहिलो कदम मैले चालेँ, अब तपाईंहरुको साथ, माया र आर्शिवाद चाहिएको छ ।’

चन्द्र पन्त निर्देशक रहेको फिल्ममा नीतासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहनेछ । नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्मको लागत चार करोड बढी अनुमान गरिएको छ ।

 

HRASHWO DEERGHA


‘हिरोपन्ती २’, ‘हमारा दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्महरुको छायांकन गरिसकेका कवीरलाल ‘ह्रस्व दीर्घ’को छायाँकार हुन् । प्रेमकथाको विषयमाथि बन्न लागेको यो फिल्म नेपाल तथा भारतका सिनेमा हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजनामा नीता र हरिहर छन् । रामोजी फिल्म सिटीमा छायांकन हुने ‘ह्रस्व दीर्घ’ पहिलो नेपाली फिल्म हो ।

Most Visited News (monthly)