Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

कलाकारलाई लाग्यो चुनाव, अध्यक्ष बन्ने आकांक्षी थपिँदै

फिल्मीखबर, काठमाडौं, 2023/01/09

नेपाली फिल्म क्षेत्रमा संघ-संस्थाहरु च्याउँ उम्रेझैं बग्रेल्ती छन् । तर, प्रायः संस्थाहरुको नाम चुनावको बेला मात्र सुन्न पाइन्छ । अरु बेला कहाँ हुन्छन् र के काम गर्छन्, अत्तोपत्तो हुँदैन । प्रायःजसो संघ-संस्थाका पदाधिकारीले फिल्मका कार्यक्रममा अतिथी बनेरै कार्यकाल विताउँछन् । तर, चुनावको बेला भने देशकै राष्ट्रपति-प्रधानमन्त्री बन्न लागेको झैं गरी ठूलै तछाडमछाड हुने गरेको छ ।

देशमा भर्खर संघीय र प्रदेश सभाको चुनाव सकिएको छ । राष्ट्रपतिदेखि सभामुखसम्म को बन्ने भन्ने रस्साकस्सी सत्ताधारी पार्टीबीच चलिरहँदा नेपाली फिल्म क्षेत्रमा भने चुनावी सरगम बढेको छ । आगामी चैत महिनासम्ममा नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल र नेपाल चलचित्र कलाकार संघको चुनाव हुँदैछ । यतिबेला चर्चा भने कलाकार संघको चुनावलाई लिएर नै छ ।

अघिल्लो साता कलाकार संघको कार्यसमिति बैठकले आगामी चैत ४ गतेलाई महाधिवेशनको मिति घोषणा गरेपछि अध्यक्षसहित विभिन्न पदमा कलाकारहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् । अध्यक्ष पदमा बढ्दो आकांक्षीका कारण यसपटक कलाकार संघको चुनाव निकै रोचक हुने देखिएको छ । अहिलेसम्मको अवस्था हेर्दा अध्यक्ष पदमा मात्र पाँचजना आकांक्षी देखिएका छन् ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रविन्द्र खड्का, महिला उपाध्यक्ष रेजिना उप्रेती, उपाध्यक्ष तथा संघका प्रवक्ता मोहन निरौला, सुशान्तकुमार श्रेष्ठ र सविन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । तर, कलाकार संघको चुनावमा प्रायः पार्टीगत कित्ताकाँट हुने गरेकाले यी अनुहार उम्मेदवारी दर्ताको समयसम्म घोषणा गरेको पदमा यथावत् रहन्छन् भन्नेमा शंका पनि उतिक्कै उब्जिएको छ ।

 

kalakar sang


अघिल्लो निर्वाचनको परिदृश्य हेर्ने हो भने कलाकार संघको अध्यक्ष पदमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको आर्शिवाद सरिता लामिछानेलाई थियो भने निर्माता तथा कलाकार रोज राणाले रविन्द्र खड्का बोकेका थिए । जित रोजको भयो । अर्थात् रविन्द्रले चुनाव जिते । यसपटक पनि कलाकार संघको चुनावमा राजकुमार र रोजले नै राजनीति खेल्ने सम्भवना प्रवल छ ।

उनीहरु कांग्रेसी भए पनि एकअर्काका दुश्मन मानिन्छन् । र, दुवैको फिल्म सम्बद्ध संघ-संस्थाहरुमा बलियो पकड छ । उनीहरुले राजनीति खेल्न चाहे चुनावी नतिजा नै उलटफेर हुन सक्छ । तर, रोज यसपाली प्रदेश सभा सदस्यमा निर्वाचित भएकाले कलाकार संघको चुनावमा उनको चासो कति रहन्छ, त्यसले ठूलो अर्थ राख्नेछ । राजकुमारलाई भने संघको चुनावले छोइसकेको अवस्था छ ।

राजकुमारले सविन श्रेष्ठलाई अध्यक्षमा समर्थन गरेको व्यापक चर्चा छ । यसपालीको दशैंमा सविनले राजकुमारको हातबाट टीका लगाएका थिए । यसहिसाबले पनि सविनले राजकुमारको आर्शिवादमा उम्मेदवारी घोषणा गरेको बुझाई धेरैको छ । अब रोजले कसको शिरमाथि हात राख्छन्, त्यो पखाईको विषय बनेको छ । सम्भवतः उनले कट्टर कांग्रेसी सुशान्तलाई समर्थन गर्न सक्नेछन् ।

मोहन निरौलालाई भने वर्तमान अध्यक्ष रविन्द्र खड्काको साथ रहेको बताइन्छ । उनले अरुलाई तिर्साएर मोहनको पक्षमा माहोल बनाउन मात्र पुनः अध्यक्षमा उठ्ने घोषणा गरेको स्रोतको दाबी छ । किनकि, दुवैबीच अत्यन्त हार्दिक सम्बन्ध छ । अघिल्लो पाली रविन्द्रलाई अध्यक्ष जिताउन मोहनको पनि ठूलो भूमिका थियो । त्यसको गुन तिर्न पनि रविन्द्रले मोहनलाई समर्थन गर्न सक्नेछन् ।

राज्यको समेत नजरमा परेको संस्था हो, कलाकार संघ । २०७७/७८ को आर्थिक वर्षको बजेटमा संघको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो । अहिले संघको पुरानो नैकापमा भवन निर्माण भैरहेको छ । तर, कलाकार संघ पुराना र बेरोजगार कलाकारहरुको मात्र संस्था बनेको भन्दै टिप्पणी हुने गरेको छ । चल्तीका कलाकारहरुको संघप्रति कुनै रुचि नै छैन ।

Most Visited News (monthly)