Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘महापुरुष’ले साट्यो सफलताको खुसी, कमाई १० करोड ग्रस

फिल्मीखबर, काठमाडौं, 2022/11/27

भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’को टिमले केक काटेर सफलताको खुसी साटेको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले केक काट्दै कलेक्सन रिपोर्ट पनि सार्वजनिक गर्‍यो । निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ३० दिनमा १० करोड १४ लाख ग्रस व्यापार गरेको जानकारी दिए ।

 

mahapurus movie


यही शुक्रवारबाट पाँचौं हप्तामा प्रदर्शनरत फिल्मले ५१औं दिने यात्रा पार गर्नेमा निर्देशक भट्टराईले विश्वास व्यक्त गरे । उनले भने, ‘व्यापार यस्तो हुनुपर्छ, यति मान्छेले हेर्नुपर्छ, यसको चाहिँ रेकर्ड तोड्नु पर्छ भनेर हामीले फिल्म बनाएका थिएनौं । बाआमाले धेरै गर्नुभयो, उहाँहरुका लागि केही गरौं भनेर मनबाट फिल्म बनाएका थियौं र दर्शकहरुले पनि मन पराइदिनुभयो । हामी खुसी छौं ।’

उनले अहिलेसम्म आफूले कुनै फिल्मको रेकर्ड तोड्नका लागि फिल्म नबनाएको दावी गरे । ‘रेकर्ड तोड्नेकै लागि फिल्म बनाउन चाहेको भए ‘जात्रा’कै तेस्रो सिक्वेल बनाइन्थ्यो होला नि । तर, म मेरो काममा ग्रोथ हुनुपर्छ र देखिनुपर्छ भन्ने सोचबाट निर्देशित हुन्छु । अगाडिको कामभन्दा राम्रो गर्नुपर्छ भन्ने दबाब मलाई सधैं नै रहन्छ र ‘महापुरुष’ गर्दा पनि त्यो थियो,’ निर्देशक भट्टराईले भने ।

समीक्षकहरुले फिल्मको क्लाइमेक्सलाई नाटकीयको संज्ञा दिएका थिए । तर, निर्देशक भट्टराईलाई यो कुरा उठ्छ भन्ने पहिला नै थाहा रहेछ । ‘क्लाइमेक्सलाई लिएर प्रश्न उठ्छ भन्ने हामीलाई थाहा थियो,’ उनले अगाडि भने, ‘हामीसँग क्लाइमेक्सको धेरै ‘अप्सन’ थियो । तर, दर्शक भारी मन लिएर नफर्किनुहोस् भनेर क्लाइमेक्स परिवर्तन गरेनौं । हामीले जे गरेका थियौं, त्यसमा पछुतो छैन ।’

प्रदीपले अब कुन नाममा र कस्तो विषयमा फिल्म बनाउने भन्ने निर्णय नभइसकेको जानकारी दिए । तर, ‘महाजात्रा’ नाममा फिल्म बन्ने सम्भावना भने रहेको उनको भनाई छ । अब आफूलाई रमाइलोसँगै संवेदनशील विषय पनि मिलाएर प्रस्तुत गर्नुपर्ने चुनौती थपिएकाले त्यो चुनौती जित्ने ठाउँमा पुगेपछि मात्र ‘महाजात्रा’ बन्न सक्ने बताए । उनले ‘महापुरुष २’ बन्न सक्नेतर्फ पनि संकेत गरे ।

 

mahapurus movie


निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले फिल्मले पाएको दर्शकको साथ र प्रतिक्रियाले आफ्नो टिमलाई थप चुनौती थपिएको बताए । त्यस्तै, निर्माता खत्रीले ‘महापुरुष’लाई चिनियाँ भाषामा सबटाइटल गरेर फेस्टिभलमा देखाउने र हिन्दी भाषामा डब गरेर डिजिटल प्लेटफर्ममा रिलिजको योजना बनाएको जानकारी दिए । उनी फिल्मले प्रदर्शनको ५१औं दिन मनाउनेमा विश्वस्त सुनिए ।

एकल पिताको एक्लोपनको कथामा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय रहेको छ । फिल्मले अमेरिका, अष्ट्रेलिया लगायतका विदेशी भूमिमा पनि आक्रामक कमाई गरिरहेको छ ।

Most Visited News (monthly)