मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मन्त्र’ अर्गानिक फिल्म हो : निर्देशक गुरुङ

फिल्मीखबर, काठमाडौं, 2022/04/22
khul bahadur gurung
 
फिल्म ‘टिस्टा पारीको साइनो’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका खिलबहादुर गुरुङ निर्देशित नयाँ फिल्म ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ । ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पमा छायांकन भएको फिल्मले दर्शकलाई फरक प्रेमकथाको आभास दिलाउने निर्देशक गुरुङको दाबी छ । उनी फिल्मलाई अर्गानिक भन्न रुचाउँछन् । 
 
उनी भन्छन्, ‘मनास्लु बेसक्याम्पमा पहिलो पटक नेपाली फिल्म खिचिएको हो । त्यहाँ हिँडेर जान मात्र ८/१० दिन लाग्छ । एकदमै दुर्गम भेग हो । जहाँ एक पोका नुनको १ सय ५० रुपैयाँ र एक बोरा चामलको ८ हजार पर्छ । त्यस्तो ठाउँको कथालाई फिल्ममा उठाएका छौं । यसकारण ‘मन्त्र’ अर्गानिक फिल्म हो । फिल्मले उठाएको कथा सम्भवतः यसअघि पर्दामा दर्शकले हेरेका छैनन् ।’ 
 
फिल्मको छायांकनको क्रममा हिउँ उमालेर पानी पिएको, चामल सकिएपछि उसिनेको आलु खाएर काम गरेको घटना निर्देशक गुरुङलाई अहिले सपना झैँ लाग्छ । छायांकन बेलाको दुःख सम्झँदै उनी भन्छन्, ‘अत्याधिक चिसोले पानी जमेर हिउँ बन्थ्यो । त्यही हिउँ उमालेर पानी खान्थ्यौं । हिउँले बाटो पुरिएर खाद्यन्न रोकिँदा केही दिन उमालेको चाउचाउ र आलु खाएर पनि काम गर्‍यौं ।’ 
 
सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको फिल्ममा सौगात मल्ल, दीया पुन, बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पाको अभिनय छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको यस फिल्ममा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र परिक्षेद सेनको पटकथा, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ ।