
बलिउड सुपरस्टार जोन अब्राहम अभिनीत नयाँ फिल्म ‘अट्याक’ यतिबेला सिनेमा घरमा प्रदर्शनरत छ । तर, फिल्मले साउथ फिल्म ‘आरआरआर’को दबदबाका कारण बक्सअफिसमा सुखद कमाई गर्न सकेको छैन । फिल्मले प्रदर्शनको तीन दिनमा जम्मा ११ करोड ५१ लाखको मात्र कमाई गरेको छ । जोनको स्टारडमको तुलनामा फिल्मको कमाई अत्यन्त कमजोर मानिएको छ ।
बलिउडका एकपछि अर्को कलाकारहरुले ओटीटी प्लेटफर्मका सिरिजमा काम गरिरहेको समयमा जोन भने यसतर्फ आकर्षित भएका छैनन् । उनले आफू तत्कालका लागि ओटीटी प्लेटफर्ममा काम गर्नका लागि तयार नभएको बताएका छन् । उनी भन्छन्, ‘म २९९ रुपैयाँको लागि होइन । म ठूलो पर्दाको हिरो हुँ र यसमा नै देखिन चाहन्छु । यसका लागि मलाई मर्न पनि समस्या छैन ।’
‘अट्याक’को दोस्रो पार्टको सम्भावनाबारे पनि उनले भनेका छन्, ‘पहिलो पार्टको सफलता र असफलताको आधारमा पार्ट २ तयार गरिन्छ । जब तपाईं यो फिल्म हेर्नुहुन्छ र जसरी फिल्म सकिएको छ, तपाईंलाई महशुस हुन्छ कि फिल्मको दोस्रो पार्ट आउन जरुरी छ । अब दोस्रो पार्ट बन्छ या बन्दैन, त्यो त म आफैंलाई पनि थाहा छैन ।’ उनी चाँडै फिल्म ‘पठान’मा देखिने तयारीमा छन् ।

