Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(25 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘हेल्लो जिन्दगी’लाई फिल्मकर्मीको साथ, प्रियंकालाई निर्देशकको जवाफ

फिल्मीखबर, काठमाण्डौ, 2022/03/31
फिल्म रिलिजको संघारमा हुँदा कलाकारहरुले प्रचार-प्रसारमा साथ नदिएको भन्दै बेला-बखतमा निर्माता-निर्देशकहरुले मिडियामा गुनासो पोखिरहेका हुन्छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’ले पनि प्रचारमा दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंको साथ पाएको छैन । दुई अभिनेत्रीको उपस्थिति र साथविनै निर्माण टिमले प्रचार गरिरहेको छ । 
 
गत हप्ता राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक एभरेष्ट सूर्य बोहोराले पटक-पटक दुई अभिनेत्रीलाई प्रचारमा हिँड्नका लागि आग्रह गर्दा विभिन्न बहाना बनाएको बताएका थिए । तर, निर्देशक बोहोराको यो कुराको दुवै हिरोइनले प्रतिबाद गरे । प्रियंकाले आफूले अझै पूरा पारिश्रमिक पाउन बाँकी रहेको र सम्पूर्ण छायांकन नसकी फिल्म रिलिज गर्न लागेको आरोप लगाइन् ।
 
त्यस्तै, एक सञ्चारमाध्यमसँँग दीपिकाले निर्देशक बोहोराले आफूमाथि गरेको व्यवहार चित्त बुझाउन सक्ने नभएको बताएकी थिइन् । यसैक्रममा, दुई अभिनेत्रीले लगाएको आरोपको निर्देशक बोहोराले खण्डन गरेका छन् । उनले प्रियंका कार्कीलाई दिनुपर्ने पारिश्रमिकभन्दा थपेर दिएको दाबी गरे । गलत बुझाईका कारण कलाकारहरुसँग सम्बन्ध नबिग्रिएको पनि उनले बताएका छन् । 
 
hello jindagi
 
फिल्मको पूरा छायांकन नगरेको भन्ने प्रियंकाको आरोपबारे निर्देशक बोहोरा भन्छन्, ‘आधा अधुरो फिल्म भएको भए म आफैं दर्शकसामु फिल्म ल्याउँदिन थिएँ । यो हाइ बजेटमा बनेको फिल्म हो । त्यस्तो फिल्मलाई आधा अधुरो त टाढाको कुरा एउटा सिन खिच्न पनि कुनै कसर छाडेका छैनौं । स्क्रिप्टले मागेको हरेक एक सिन खिचेका छौं । फिल्मलाई आधा अधुरो भन्नु गलत कुरा हो ।’ 
 
फिल्मको प्रचारलाई दुई अभिनेत्रीले बहिष्कार गरेपनि अन्य फिल्मकर्मीहरुले भने साथ दिएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘हेल्लो जिन्दगी’लाई साथ दिन कलाकारहरु सन्दिप क्षेत्री र रविन्द्र झा, निर्देशक द्वय शोभित बस्नेत र मिलन चाम्स, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत उपस्थित भएका थिए । उनीहरुले दर्शकलाई फिल्म हेरिदिन आग्रह गरे । 
 
विभिन्न फिल्मकर्मीबाट साथ मिलेपछि खुसी देखिएका निर्देशक बोहोराले अब आफूहरुको साथमा को छैन भन्ने कुराले दुखी हुन छाडेको बताए । अब ‘निर्माता बचाउ अभियान’ सुरु गर्न आवश्यक रहेको बताउँदै उनले भनेका छन्, ‘निर्माता बाँच्यो भने उद्योग बाँच्छ । एउटा फिल्मबाटै निर्माता हतोत्साहित भए भने फिल्म कसले बनाउँछ ? त्यसैले निर्मातालाई प्रोत्साहन र सम्मान गर्नुपर्छ ।’
 
पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको यस फिल्मलाई निर्माण टिमले वास्तविक घटनाबाट प्रभावित भनेको छ ।
Most Visited News (monthly)