नेपाली फिल्म गीतसंगीत विना अपुरा मानिन्छन् । गीत फिल्मको अभिन्न अंग नै बनेको छ । कतिपय फिल्ममा गीतलाई कथा भन्ने माध्यमको रुपमा प्रयोग गरिएको हुन्छ भने कति फिल्ममा कथाले गीत नमागे पनि जबर्जस्ती राखिन्छ । गीत हिट भयो भने बक्सअफिसमा फाइदा पुग्ने आशले पनि फिल्ममा गीत छुट्ने गरेका छैनन् । तर, वर्षमा एकाध गीत मात्र हिटको सूचिमा पर्छन् ।

गीत हिट भएपछि फिल्म हेर्न हलमा दर्शक ओइरिएका धेरै उदाहरण छन् । ‘ए मेरो हजुर’, ‘छक्का पञ्जा’, ‘नाईं नभन्नू ल’, ‘प्रेमगीत’ जस्ता फिल्म बक्सअफिसमा चम्किनुमा गीतको पनि ठूलो योगदान मानिन्छ । यसैले अचेल फिल्मको कथामा भन्दा गीतको अडियो र भिडियो बलियो बनाउन निर्माता-निर्देशकहरुले बढी मेहनत गर्ने गरेका छन् । गीतमै लाखौं खर्च गर्न समेत पछाडि हट्दैनन् ।
‘कबड्डी’ सिरिज पनि राम्रो र सफल गीत दिनेमा अगाडि मानिन्छ । यो सिरिजका गीतहरु प्रायः हिटको सूचिमा दरिन सफल छन् । यसको चौथौं श्रृंखलाको ‘केशरी’ गीत यतिबेला चर्चाको केन्द्रमा छ । यूट्युब रिलिजको दुई हप्तामा ३४ लाखभन्दा बढी पटक हेरिसकिएको गीत सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएको छ । लाखौंले यो गीतमा टिकटक भिडियो बनाएका छन् ।
पछिल्लो समय टिकटक गीतको लोकप्रियता चुल्याउने मामलामा वरदान नै सावित भएको छ । ‘केशरी’ गीतलाई पनि दर्शकको ठूलो वर्गमा पुर्याउन टिकटकले सघाएको छ । यूट्युबमा गीत हेर्ने प्रायः दर्शकहरु टिकटकमा सानो अंश सुनेपछि यूट्युबसम्म पुगेका छन् । गीतको बढ्दो चर्चाले फिल्मको राम्रो हाइप चुलिएको छ । यसको फाइदा फिल्मको व्यापारमा पर्न सक्ने देखिन्छ ।
यूट्युबमा एक लाख बढी लाइक्स मिलेको गीतलाई तीन हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्स हेर्दा दर्शकबाट गीतलाई शतप्रतिशत उत्कृष्ट प्रतिक्रिया मिलेको देखिन्छ । कतिले संगीत क्षेत्रमा ‘केशरी’ गीतले क्रान्ति ल्याएको बताएका छन् भने कतिले नेपाली फिल्ममा स्तरीय गीत आउन थालेकोमा खुसी व्यक्त गरेका छन् । गीतमा शब्द, संगीत र गायनको संयोजना उत्कृष्ट छ ।
गीतमा एसडी योगीको स्वर, राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत छ । गीतको भिडियोमा फिल्मका अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाललगायतको पनि अभिनय रहेको छ । फिल्म आउँदो जेठ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

